विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गरः राष्ट्रिय मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । 

‘प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

गत हप्ता परेको अबिरल बर्षाले सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र कञ्चनपुर, बझाङ, डडेल्धुरा लगायतका जिल्लामा बाढी, पहिरो एवम् डुबानका कारण ३२ जनाको मृत्यु, ३० जना घाइते, १२ जना बेपत्ता र ४ हजार ५१ घरपरिवार विस्थापित भएको आयोगले जनाएको छ । 

उक्त घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘यस प्राकृतिक विपद्बाट हुन गएको जनधनको क्षतिप्रति आयोग गहिरो दुःख व्यक्त गर्दछ,’ आयोगले भनेको छ । 

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको अवस्थासम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको छ । 

स्थानीय बासिन्दाको घर डुबानमा परी घरमा रहेका अन्नपात, लत्ताकपडा बगाएको, विस्थापितहरू पशु चौपायासहित स्थानीय सडकमा बसिरहेका, खुला आकाशमुनि बस्नुपरिरहेकोले बालबालिका, वृद्धवदाहरू र असहायहरूलाई समस्या परिरहेको, खाद्यान्न अभावको कारण चाउचाउ र चिउरा खाएर बसिरहेको जानकारी आयोगलाई विभिन्न स्रोतहरुबाट प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । 



बाढीबाट विस्थापितहरूको लागि तत्कालै गाँस, बासको उचित व्यवस्था हुन नसक्दा प्रभावितहरू कष्टकर जीवन बिताउन बाध्य भएको पाइएको आयोगले बताएको छ । 

बाढीका कारण सयौं चौपाया मरेको र स्थानीयहरू चौपायासहित अव्यवस्थितरूपमा सडकमा बसिरहेकाले खानेपानी तथा सरसफाईको अभावमा विभिन्न रोगको संक्रमण हुनसक्ने जोखिम देखिएकोमा आयोगले चिन्ता प्रकट गरेको छ । 



  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १८:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया