काठमाडौंको फुटपाथ व्यवस्थापन गर्ने अभियान लचिलो हुँदैन : मेयर बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप दीर्घकालीन रूपमा सञ्चालन गर्ने बताएका छन् । 

दसैंको बेला फुटपाथ व्यापारीलाई हटाएको विषयमा केहीले महानगरको आलोचना गरिरहेको बेला आज उनले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । 

‘सडक व्यापारले पैदलमार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रूपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्न चाहन्छौं,’ बालेनले भनेका छन् । 

फुटपाथ व्यापारलाई दसैंको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको समेत उनले जनाएका छन् । 

‘सडकमा पैदल यात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ,’ उनले भनेका छन् । 

सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेको जानकारी उनले विज्ञप्ति मार्फत दिएका छन् । 



आर्थिक बर्ष २०७९/८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको उनले विज्ञप्तिमा स्मरण गरेका छन् । 

यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताएका छन् । 



‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घर बाहिर निस्कने समय हो । उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो,’ मेयर शाहले भने ।

विज्ञप्तिमा उनले सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमलाई निरन्तरता दिने कुरा दोहोर्‍याएका छन् ।  

  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार १३:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया