पहिरोले गल्छी-देवीघाट सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ ।

नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा  पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए । चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडौं पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे ।

‘गल्छी–देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभीर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो । उक्त स्थानमा करिब पाँच सय मिटरमाथिबाट खसेको सुक्खा पहिराले दुई सय मिटर सडक पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

सडक खुलाउन ‘गल्छी–रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् । ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूर्ण बनेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’ कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार १०:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया