साइबर अपराधमा युवावर्गकाे संलग्नता बढी

काठमाडौँ– प्रविधिकाे उच्चतम विकाससँगै साइबर अपराध पनि बढिरहेकाे छ । सामाजिक सञ्जालकाे प्रयाेग बढ्दा पनि यस्ता अपराधहरु निकै हुन थालेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । नचिनेका व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेको छ ।

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा पर्यो भनेर एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताउँछन् । ‘विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेरसमेत ठगी भएको छ’, उनी भन्छन् । 

महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १५ देखि २५ वर्षसम्मका युवा धेरै साइबर अपराधमा लाग्ने गरेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंह मानिसले अनावश्यक रूपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेको बताउँछन् । 

‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ’, उनी भन्छन् । साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ । 

साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । महाशाखाले साइबर अपराधमा ९२६ उजुरी दर्ता भए पनि ४० विरुद्ध मुद्दा चलाएको छ । जसमध्ये सामाजिक सञ्जालमार्फत १७, अर्का नाममा रहेको फेसबुक, ट्वीटर ह्याकिङ गर्ने छ, जथाभावी एसएमएस गर्ने नौ, युट्युव जे पायो त्यही पोष्ट गर्ने तीन र नक्कली कम्पनी बनाएर अरुको आर्थिक खातामा जालसाजी गर्ने पाँचविरुद्ध मुद्दा दर्ता भएको छ । 

यस्तै आर्थिक वर्ष २०७३÷७४ मा एक हजार १९७ उजुरी दर्ता भएकामा २६ विरुद्ध मुद्दा चलेको छ भने आव २०७४÷७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकामा ६८ विरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता उप्रेती साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा अफ्ठ्यारो हुने गरेको बताउँछन् । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही गर्दै आएको छ । 

विद्युतीय कारोवार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा एक लाख वा दुवै सजाय हुने प्रावधान रहेको छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । 

नेपाल प्रहरीले पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि साइबर ब्यूरोसमेत स्थापना गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयबाट जारी गरेको गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दश बुँदे प्राथमिकताका आधारमा प्रहरीले ब्यूरो स्थापना गरेको हो । 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदी प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्व रहने गरी ७० दरबन्दी भएको ब्यूरो स्थापना गरिएको बताउँछन् । ‘हाल प्रहरी प्रधान कार्यालयबाट सञ्चालन हुँदै आएको ब्यूरोले छिट्टै प्रहरी प्रधान कार्यालय बाहिर रहेर जनताको सेवा गर्नेछ’, प्रवक्ता सुवेदी भन्छन् । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराधमा समेत रोकथाम गर्ने विश्वास प्रहरी प्रधान कार्यालयले लिएको छ । 





  • प्रकाशित मिति : माघ २०, २०७५ आइतबार १२:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया