स्याङ्जा २ः पद्‌मा अर्याल र धनराज गुरुङ कसलाई कति सहज ?

४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चासोका साथ हेरिएको एक क्षेत्र हो, स्याङ्जा २ । स्याङ्जा निर्वाचन क्षेत्र २ बाट यसपकट नेकपा एमालेकी सचिव पद्मा अर्याल र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । 

अर्यालले यो क्षेत्रमा यसअघि पनि निर्वाचन जितेकी थिइन् । गुरुङ चाहिँ पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दै छन् ।

यसअघि २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धन हुँदा अर्यालले कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई हराएकी थिइन् । उनले झन्डै ४ हजार मत बढी ल्याउनुमा त्यति बेला नेकपा माओवादी केन्द्रको मतको पनि कारण भएको देख्न सकिन्छ । तर, यसपटक नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँगको गठबन्धनमा भएकाले पद्माका लागि सोझै चुनौति यो क्षेत्रमा बढेको विश्लेषण त्यहाँका मतदाताले गर्ने गरेका छन् ।

२०७४ सालमा गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याएका थिए । पद्मा अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी थिइन् । यसपटक गठबन्धन फेरिएकाले यो मत संख्यामा अडिग रहन पद्मालाई चुनौति हुनसक्ने अनुमान गरिएको छ ।

फेरि गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजालाई हेर्ने हो भने सत्ता गठबन्धन त्यहाँ एमालेभन्दा अगाडि देखिन्छ । त्यहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेकाहरुले ३६ हजार ८ सय ६ मत ल्याएका थिए भने नेकपा एमालेका वडाध्यक्षहरुले ३४ हजार ८ सय ९ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार ४ सय ४७, राप्रपाकालेल ५११, एकीकृत समाजवादीकाले २३३ मत ल्याएका थिए ।

यो अंकगणितलाई ख्याल गर्दा पनि सो क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ ।



चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ वडाहरु, भिरकोेटका ५, ६, ७, ८, ९ र कालिगण्डकी गाउँपालिका मिलाएर बनेको यो क्षेत्रका बासिन्दा यसपटक यी दुई उम्मेदवारको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिरहेका छन् ।

आफूले चुनाव जित्ने दाबी गरिरहेका पद्मा अर्याल र धनराज गुरुङ दुवैले निष्ठाको राजनीतिको मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । अर्यालले चुच्चे नक्सालाई आफ्नो मुख्य मुद्दा बनाएकी छिन् भने गुरुङले भ्रष्टाचारविरुद्ध आफूलाई सधैं सशक्त रुपमा उभ्याउने बताउँदै आएका छन् ।



  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १०:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया