राजधानी नजिकैको बस्ती : जहाँका मतदाता न उम्मेदवारलाई चिन्छन्, न उम्मेदवार मतदातालाई चिन्छन्

निर्वाचनमा एक दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनेकौं जुक्ति अपनाएर भए पनि उम्मेदवारहरू आफ्नो पक्षमा मत तान्ने प्रयास गर्छन् । यो प्रयासमा गाउँ बस्ती पुग्ने र मतदाता रिझाउन हरेक चुनावमा दौडधूप चलेकै हुन्छ । तर बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा यस्तो गाउँ छ, जहाँ उम्मेदवारलाई मतदाताले चिनेका छैनन् । 

मकवानपुरको राक्सिराङ गाउँपालिकामा अधिकांश जनजाति र चेपाङ समुदायको बसोबास रहेको छ । कुल जनसङ्ख्याको ५१ दशमलव ८ प्रतिशत तामाङ र ३७ प्रतिशत सीमान्तकृत चेपाङ जाती रहेको यहाँका समुदायलाई मंसिर ४ गते निर्वाचन हो भन्ने पनि कतिपय मानिसहरूलाई थाहा नै छैन । त्यसो त, यहाँका दुर्गम क्षेत्र खैराङ, लाइसिराङ लगायतका स्थानहरूमा उम्मेदवारहरू मत माग्न समेत नपुगेको स्थानीयको गुनासो छ । मेला पात गरेर आफ्ना जीविका चलाउँदै आएका राक्सिराङका स्थानीयहरूलाई मत खसाल्ने दिन आउनै लाग्दा पनि को उम्मेदवार, कसलाई र कहिले मतदान गर्ने कुरा थाहा छैन । 

राक्सिराङ ९ खैराङकी ७१ वर्षीय चन्द्रमाया घलानले गत स्थानीय तहको निर्वाचनमा पनि भोट हालिन् । तर उनलाई आफ्ना छोराहरूले सिकाएकै भरमा भोट दिइन् । ‘भोट त हालेकी हुम् नि । खै कसले पो जित्यो । जितेपछि हाम्रा गाउँमा आउँदैनन्,’ उनले भनिन् । घलानलाई आगामी निर्वाचन कहिले भन्ने कुरा पनि थाहा नभएको सुनाइन् । उनले भनिन्, ‘खै कैल्या पो हो । घर भन्दा पारी पारी गाउँमा त झण्डा बोकेर आइरहेका देखेका छौँ । हामी घरमा बस्न भ्याम्दैनम् । घाँस काट्न गयाको बेला आए होलान् कि । को उठ्या छ । चुनाव कैले केही थाहा छैन मलाई छ । काम गरेर खाने मान्छेलाई के थाहा ।’ 

शिक्षा, स्वास्थ्य तथा सडक सञ्जालबाट केही टाढा रहेका यहाँका चेपाङ समुदायहरूको स्तरउन्नति गर्ने भन्दै अहिले मकवानपुरका प्रत्येक राजनीतिक दलको एजेन्डामा सीमान्तकृत चेपाङ जाती तथा लोपोन्मुख वनकरीया जातीलाई समेटिएको छ । तर निर्वाचनको पूवसन्ध्यामा आइपुग्दा समेत राक्सिराङका चेपाङ समुदायहरूलाई भने मत कसरी हाल्ने, कति जनालाई मत दिन पाइन्छ र आफ्नो क्षेत्रमा कसको उम्मेदवारी छ भन्ने कुरामा अनविज्ञ रहेको कारण चुनाव मंसिर ४ गते हो भन्ने कुरा सुने पनि उम्मेदवारहरू गाउँमा नपुगेकोले कसलाई भोट दिने स्थानीयहरू अन्यौलतामा रहेका छन् । हाम्रो घरमा जान सडक छोडेर पनि १ घण्टा हिँड्नुपर्छ । त्यस्तो हिँडेर गएर कसले भोट माग्छ र सरकारी कामका लागि राक्सिराङ ५ चैनपुर आइपुगेकी फूलमाया चेपाङले भनिन् । 

यहाँका स्थानीयहरूलाई उम्मेदवार नचिनेको पीडा एकातिर छ भने आफ्नो चेपाङ समुदायको नाम लिएर उम्मेदवारहरूले जित्नको लागि आफूहरूको पहिचान माथि नै राजनीति गरेको भन्दै स्थानीयहरू आक्रोशित पनि छन् । अरू बेलामा प्राथमिकतामा नपर्ने चेपाङ जातीलाई चुनावका बेला मात्रै सम्झिएर गाउँ आउने नेताहरू देखि दिक्क छन् । निर्वाचनका बेला चेपाङ समुदायको लागि विभिन्न आश्वासनहरू लिएर उम्मेदवारहरू आए पनि जितेर गएपछि केही नगरेको भन्दै स्थानीय ३५ वर्षीय खसम चेपाङ गुनासो गर्छन् । 

उनले भनिन्, ‘अरू बेलामा हामी चेपाङ समुदायलाई त्यति वास्ता नगरे पनि अहिले सबै राजनीतिक दलले चेपाङलाई यो गरिदिन्छु । त्यो गरिदिन्छु भन्दै घरघरमा आउन सुरु गरिसकेका छन् । त्यो पनि सडक पुगेको ठाउँमा मात्रै पुगिरहेका छन् । जितेर गएपछि हामी चेपाङ जातीको समस्या जहीँको त्यहीँ हुनेछ । चुनावी एजेण्डामा मात्रै हामी प्रयोग भइरहेका छौँ ।’ 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १३:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया