दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका हुन् ।

निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा विक (बाँके)सहित दलित समुदायबाट पाँचजना निर्वाचित भए ।

नेकपा (एमाले) बाट ईश्वरबहादुर रिजाल (दोलखा), प्रभु हजरा दुसाध (पर्सा), चन्द्र विश्वकर्मा (रुकुमपश्चिम), रुक्मणि राना बराइली (काभ्रेपलाञ्चोक) र हर्कमाया विश्वकर्मा (झापा) समानुपातिकमा निर्वाचित भएका हुन् । 

एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिट ३४ मध्ये पाँचजना दलित समुदायबाट छन् । नेकपा (माओवादी केन्द्र)बाट भने रणेन्द्र बराइली (चितवन) र सुशीला श्रीपाइली (अर्घाखाँची) निर्वाचित भएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सन्तोष परियार (भक्तपुर) र शिव नेपाली (ओखलढुङ्गा) निर्वाचित भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिता नेपाली (सल्यान) निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ भने नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका छन् । 



प्रतिनिधिसभामा जम्मा सांसदको सङ्ख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ जना सांसदको सहभागिता छ । 

विगतको तुलनामा यसपटक संसदमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्ख्या कमजोर देखिएको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा दलित समुदायबाट तीनजना प्रत्यक्ष निर्वाचित भएका थिए । 



संविधानसभा २०६४ मा छ सय एक जनामा ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो । तीमध्ये तत्कालीन नेकपा (माओवादी) बाट सातजना प्रत्यक्ष निर्वाचित भएका थिए । 

संविधानसभा २०७० मा दलित प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (छ दशमलव ८२ प्रतिशत) मा झर्यो । सोमध्ये दुई जना नेकपा (एमाले) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (६ प्रतिशत) को प्रतिनिधित्व भयो । सोमध्ये एमालेबाट दुई जना र माओवादी केन्द्रबाट एकजना प्रत्यक्ष निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार २१:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया