प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बालुवाटरमा भएको प्रचण्ड–ओलीबीचको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको छ ।
साथै, भेटमा राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ । ओली र प्रचण्डले निरन्तर भेटवार्ता गरिरहेका छन् । उनीहरूबीच मंगलबार पनि वालुवाटारमा भेटवार्ता भएको थियो ।
ओली–प्रचण्डबीचको भेटमा राष्ट्रपति निर्वाचनको विषयले प्राथमिकता पाउने गरेको बताइएको छ । माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सहमति गरेको हुनसक्ने आशंकाले पनि ओलीले प्रचण्डसँगको भेटवार्तालाई तीव्रता दिएका हुन् ।
अहिलेसम्म निर्वाचन आयोगले भने राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरिसकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १९ फागुनभित्रै राष्ट्रपति निर्वाचन गरिनुपर्ने बताइरहेको छ ।
राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७ सय ७ मतभार हुन्छ । बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउने उम्मेदवार विजयी हुने छन् ।
संसदको ठूलो दल कांग्रेससँग १६ हजार २ सय २१ र एमालेसँग १५ हजार २ सय ३३ मत रहेको छ । यसका बाबजुद पनि अन्य धेरै सहयोगी जुटाउँदा पनि उनीहरूलाई बहुमत पुर्याउन भने कठिन छ ।
राष्ट्रपति निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र निर्णायक देखिन्छ । उसको ७ हजार ७ सय ४५ मत छ ।
१० पुसमा ओलीनिवास बालकोटमा भएको सहमतिअनुसार २९ हजारभन्दा पनि बढी मतसहित आफ्नो उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने एमालेको अपेक्षा छ । तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएपछि भने एमाले त्रसित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।