मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीको मणिपुरबाट उद्धार

भद्रपुर– मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । 

नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पुर्याएका थिए ।

मणिपुरबाट म्यान्मार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए । 

उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् । उद्धार गरिएका व्यक्तिलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइने झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

उनीहरुलाई साेमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र रातभरमा पूर्वीनाका काँकडभिट्टा ल्याइपुरयाइएकाे उनले जानकारी दिए । प्रजिअ दाहालका अनुसार काँकडभिट्टाबाट  ६ बसमा राखेर उनीहरुलाई मङ्गलबार काठमाडौँस्थित माइती नेपालको पुनःस्थापना गृहमा पठाउने तयारी गरिएको छ ।

माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले उद्धार गरिएकामध्ये कतिपय बिरामी भएका कारण बाटैमा उपचार गर्नु परेकाले नेपाल ल्याउन केही ढिलाइ भएको बताए ।

उद्धारमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको माइती नेपालले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार ८:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया