मधेसका मुख्यमन्त्री भन्छन्- संघीयता कार्यान्वयनमा संघ सरकारले बेइमानी गरिरहेको छ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता कार्यान्वयनमा संघ सरकारले बेइमानी गरिरहेको आरोप लगाएका छन् । नेपाल कानुन समाजद्वारा शुक्रबार जनकपुरधाममा आयोजित संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था तथा भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो आरोप लगाएका हुन् । 

मुख्यमन्त्री यादवले संघीयता कार्यान्वयमा संघ सरकार बाधक रहेको बताउँदै मनैदेखि संघीयतालाई स्वीकार नगर्ने राजनीतिक वृतको पनि वर्चश्व रहेको र त्यसको असहयोगका कारण यस्तो चुनौति खडा भएको दाबीसमेत गरे । संघ सरकार मानसिक रुपले इमान्दार नभएसम्म संघीयता कार्यान्वयनमा चुनौती देखिएको मुख्यमन्त्री यादवले आशंका व्यक्त गरेका छन् । 

उनले सरकारभन्दा पनि दुई कदम अगाडि कर्मचारीहरु रहेको र त्यसमध्ये पनि अधिकांश बेइमान नै रहेको आरोपसमेत लगाए । उनले भने, ‘प्रदेशमा आएपछि संघीयता चाहिन्छ भन्ने कर्मचारी संघमा गएपछि संघीयताको विरोध गर्छन् । जबकि संघीयता भइसकेपछि दुनियाको कुनैपनि ताकतले यसलाई हटाउन सक्दैन । जबसम्म मधेस प्रदेशका जनता रहन्छन् तबसम्म संघीयता निश्चित रुपले कार्यान्वयन हुन्छ ।’

‘स्थानीय तहमा प्रदेश लोकसेवाबाट कर्मचारी नियुक्ति गरेर पठाउने तर त्यो कर्मचारी एउटै पालिकामा पूरा अवधिभर काम गर्छ भने काम हुँदैन । त्यो कर्मचारीको सरुवाको पनि व्यवस्थापन हुनुपर्छ,’ उनले भने, ‘पाँच वर्षमा मेयर परिवर्तन हुन्छ तर कर्मचारी त्यहाँ गएपछि ५८ वर्ष उमेरसम्म त्यहि बस्छ । यस्तो अवस्थामा त्यो कर्मचारीले भोलिको दिनमा मेयरलाई पनि टेर्दैन ।’
मुख्यमन्त्री यादवले स्थानीय तहमा पनि कर्मचारीको सरुवा बढुवा प्रदेश सरकारले गर्न पाउनु पर्ने माग गरेका छन् । प्रदेश सरकारको मातहतमा कर्मचारी रहँदा भोलिको दिनमा नगरप्रमुखहरुलाई पनि काम गर्न सजिलो हुने उनको विश्वास छ । 

उनले भने, ‘संघबाट कर्मचारी सरुवा भएर आउँदा मेयरलाई बढि दौडधूप गर्नुपर्छ । पैसा खुवाएर सरुवा गराउने प्रवृति बढेकोले कर्मचारीले मेयरको कुरालाई पनि मान्यता दिंदैनन् ।’
उनले प्रदेशका १३६ वटै पालिकामाथि मुख्यमन्त्री कार्यालयले नजर राखिरहेकोले नराम्रा कर्मचारीलाई कारवाही र राम्रालाई प्रोत्साहन पनि प्रदेश सरकारले नै गर्ने बताए ।  

मुख्यमन्त्री यादवले राष्ट्रपतिको निर्वाचन पश्चात् सबै नगरप्रमुखहरुलाई बोलाएर छलफल गर्ने र बजेट बनाउनुभन्दा अगाडि पालिकामा कुन कुन योजना राख्दा राम्रो हुन्छ भन्नेबारे छलफल गर्ने आफ्नो आगामी योजना रहेको सुनाए । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार १७:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया