नयाँ शक्तिकाे जनसंवादबारे मानुषी यमी भट्टराईकाे विचार
जनसंवादमा शक्ति खोज्दै नयाँ शक्ति

जनसंवाद यात्राको उद्देश्य भनेको सुसंस्कृत राजनीति र समावेशी विकासका निम्ति जनतासमक्ष गएर जनताका कुरा सुन्ने र यिनै मुद्दामा आफ्नो पार्टीको तर्फबाट धरणा राख्ने हो । संवाद भनेको एकोहोरो हुँदैन । दोहोरो हुन्छ । 

नेपाली राजनीतिको संस्कार सधैं मञ्चमा उभिएर एकतर्फी भाषण गर्ने मात्र छ । जनतालाई ‘हायरआर्की’मा तल राखिएको हुन्छ । तल भएका जनताले कुरा सुन्ने र ताली पड्काउने भन्ने जुन संस्कार छ यो कुसंस्कार हो । त्यसैले हामी सुसंस्कृत राजनीतिका निम्ति दुई वर्षदेखि लागिरहेका छौं । 

पार्टी गठन भएको दुई वर्षको अन्तरालमा नै हामीले निर्वाचन फेस गर्नुपर्यो । निर्वाचनमा पर्याप्त संवाद गर्ने अवसर मिलेन । संसदीय निर्वाचनमा केन्द्रीय नेतृत्व गाउँ-गाउँसम्म पुगेको थिएन । व्यस्तताका कारण पनि त्यो सम्भव हुन सकेन । 

अहिले ‘जनसंवाद यात्रा’ अभियान चलाएर हामी गाउँ–गाउँ पुगिरहेका छौं । पार्टीको केन्द्रीय नेतृत्व पहिलोपटक आफैं जनताका घरदैलोमा पुगेको छ । मध्यपहाडी लोकमार्गलाई यात्राको आधार मानेर पूर्वदेखि पश्चिमसम्म गरिएको यो एक महिना लामो जनसंवाद ऐतिहासिक छ । 

यसको औचित्य के हो त ? हाम्रो पुस्ताले, विशेषगरी मेरै पुस्ताले, जनयुद्ध देख्यो, भोग्यो । जनआन्दोलन, आदिवासी जनजाति र मधेस आन्दोलन भोग्यो । संविधानसभाबाट नयाँ संविधान पनि प्राप्त भयो । नेपालमा नयाँ युगको सुरुवात भयो पनि भनिएको छ । अहिले समृद्धिको नारा नै ‘मेनस्ट्रिम’ बनेको छ । तर, समृद्धि कुनै एउटा पार्टीको मुद्दा होइन । 

समृद्धि नै राष्ट्र र जनताको आवश्यकता हो भने जनतासँग संवाद गरेर मात्र समृद्धिको खाका बनाउन र कार्यान्वयन गर्न सक्छन् । नत्र यो समृद्धि कसका लागि ? केका निम्ति ? व्यापक रूपमा यस्ता प्रश्न त उठिसके । तर, यी प्रश्न सुन्न नेताहरू तयार हुनुहुन्न । यो जनसंवादमार्फत हामी यही कामको सुरुवात गर्दै छौं । 



गाउँ-गाउँमा बाबुराम

जनसंवाद अभियानमा बाबुराम भट्टराईको सहभागिता आफैंमा अर्थपूर्ण छ । पूर्वप्रधानमन्त्री, पार्टीको संयोजकका हिसाबले मात्र होइन राष्ट्रिय÷अन्तर्राष्ट्रिय पहिचानको हिसाबले पनि वहाँको सहभागिता महत्त्वपूर्ण छ । 



त्यसमाथि ६५ वर्षको उमेर, प्रतिकूल मौसम, पहाडी भूगोल, हिमपातका बीचबाट मध्यपहाडी लोकमार्गमा वहाँले जनतासँग प्रत्यक्ष संवाद गर्नुभएको छ । नयाँ शक्ति पार्टी गठन हुँदाको उद्देश्यलाई यो जनसंवाद यात्राले अघि बढाएको छ । 

समृद्धि नै राष्ट्र र जनताको आवश्यकता हो भने जनतासँग संवाद गरेर मात्र समृद्धिको खाका बनाउन र कार्यान्वयन गर्न सक्छन् । नत्र यो समृद्धि कसका लागि ? केका निम्ति ? 

झोंक वा व्यक्तिगत मनमुटाव वा पदका लागि बाबुरामले थप एउटा पार्टी गठन गर्नुभएको होइन । त्यसको पुष्टि अहिले यही जनसंवाद यात्राले गरिरहेको छ । अहिले न चुनाव छ, न जनताले तुरुन्तै भोट दिइहाल्ने परिवेश छ । तैपनि हामी यसरी किन खटिरहेका छौं त ? दूरगामी उद्देश्यसहित राष्ट्रलाई निकास दिने, नयाँ शक्ति गठन गर्नुको महत्त्व जनताको बीचमा बोध गराउने उद्देश्यका साथ यो अभियान चलिरहेको हो । 

नयाँ शक्तिको नयाँपन

हामी मूलधारका पार्टीहरूको विकल्पमा आएका हौं । अन्य पार्टीभन्दा हामी केमा फरक छौं भने हामी एउटा प्रस्ट विचार र भिजनसहित आएका हौं । तर, हामीले कुनै पूर्णविराम लगाएर यही नै अन्तिम हो भनेका पनि छैनौं । विगतका आन्दोलनहरू, राजनीतिक उपलब्धिहरू जे–जति भए तिनीहरूबाट पाठ सिक्दै अगाडि बढ्ने अग्रगामी विचार हामीसँग छ ।

अहिले पनि वैकल्पिक राजनीतिको नाममा केही ‘सेन्टिमेन्ट्स’ छ । तर, त्यस्ता ‘सेन्टिमेन्ट्स’ अलि पछाडि फर्केर हेर्ने, गणतन्त्रभन्दा अगाडिका कुरा ल्याउने र पुरानै दिन सुनौला थिए भन्ने खालका छन् । गणतन्त्र प्राप्तिभन्दा अगाडिको कालखण्डलाई अलि बढी ‘रोमान्टिसाइज’ गर्ने त्यस्ता विचारलाई म अग्रगामी ठान्दिनँ । 

त्यसको विपरीत हाम्रो अग्रगामी वैकल्पिक शक्ति गल्तीबाट पाठ सिक्दै, उपलब्धिहरूकोे सम्मान र रक्षा गर्दै अगाडि बढ्छ । पहिलाकै राजनीतिक संस्कारले हामीलाई अगाडि डो¥याउँदैन । पहिलाकै वैचारिक धरातलले मात्र पनि पुग्दैन । त्यसमा टेकेर थप विकास गर्नुपर्छ भन्ने एउटा प्रस्ट मनसायसहित आएको हुनाले हामी अरूभन्दा बढी प्रगतिशील छौं । 

चुनावअघि र पछि

हामी निर्मम भएरै पार्टीको आत्मसमीक्षा गरिरहेका छौं । दुई वर्षको अन्तरालमा हामीले धेरै आरोह–अवरोध भोगेका छौं । अहिले पनि पार्टी बनाउने क्रममै छौं । पार्टी निर्माणकै क्रममा निर्वाचनमा जानु परेकाले नतिजा हाम्रो पक्षमा आएन । त्यसले हाम्रो एक वर्षभन्दा बढी समय पनि खायो । 

चुनावमा छुट्टै खालको रणनीति र तालिका आवश्यक हुन्छ । चुनावमा हामीले निर्वाचन चिह्न प्राप्त गर्न सकेनौं, आत्मविश्वास गुमायौं । त्यसबीच पार्टीको दिशा अन्योलग्रस्त भयो । नेता–कार्यकर्ताको ओहोरदोहोर चल्यो । नयाँ शक्तिको छुट्टै पहिचान के हो त भन्ने कुरामा अशंका रह्यो । त्यो जायजै थियो भन्ने मलाई लाग्छ । जनताका तर्फबाट त्यो बुझाइ नाजायज हुने कुरा भएन । 

चुनाव चिह्न सापट लिएर निर्वाचनमा जाँदा साथीहरूको आत्मबल गिर्यो । त्यसपछि धैर्य नभएका महत्त्वाकांक्षी साथीहरूले पार्टी छोड्नुभयो । नयाँ शक्ति तुरुन्तै बनिहाल्छ, सत्तामा पुगिहाल्छ र लाभ लिइहाल्न सक्छौं भन्ने मनसाय बोकेका कतिपय साथीहरूले यो पार्टी छोड्नुभयो । कतिपयले चाहिँ नयाँ शक्तिको सैद्धान्तिक व्यावहारिक उद्देश्य र उपादेयता नबुझेर अलिकति मतभिन्नताकै कारणले छोड्नुभयो । 

चुनावपछि हामीले झन् बढी निर्मम रूपमा आत्मसमीक्षा गरेका छौं । विशेषगरी कास्कीको ल्वाङ होम-स्टे र लुम्बिनीको बैठकबाट अब पार्टी लोकतान्त्रिक वा वाम लोकतान्त्रिक के हो भन्ने सैद्धान्तिक निरुपण भएको छ । नयाँ शक्ति आफैं अगाडि बढ्छ कि अन्य कुनै पार्टी अथवा समूहको साथ लिएर भन्ने प्रश्नमा पनि प्रस्ट भएर अगाडि बढ्ने निर्णय गर्यौं । 

चुनावपछि हामीले झन् बढी निर्मम रूपमा आत्मसमीक्षा गरेका छौं । विशेषगरी कास्कीको ल्वाङ होम-स्टे र लुम्बिनीको बैठकबाट अब पार्टी लोकतान्त्रिक वा वाम लोकतान्त्रिक के हो भन्ने सैद्धान्तिक निरुपण भएको छ । 

पहिलो नम्बरमा यो ‘वाम लोकतान्त्रिक’ भन्ने शब्दावलीलाई हामीले जुन रूपमा बुझ्यौं र बुझाउन खोज्यौं त्यो नेपालको सन्दर्भमा उपयुक्त भएन भन्ने निष्कर्ष निकाल्यौं । किनकि नेपालको राजनीतिक इतिहासमा ‘वाम’ भन्ने कुराले निश्चित समूह, निश्चित विचारधारालाई मात्र इंगित गर्छ । त्योभन्दा फरक हामीले बुझाउनै नसक्ने रहेछौं । 

लोकतान्त्रिक भनेपछि कांग्रेस मात्र बुझ्ने हाम्रो समाज छ । ‘वाम लोकतान्त्रिक’ विचारले ‘कम्युनिस्ट पनि कांग्रेस पनि’ भन्दैन । तर जनताले त्यो अर्थमा बुझिदिँदा यो ढुलमुले भएजस्तो, कुनै चरित्र नै नभएजस्तो, खिचडी भएजस्तो लाग्यो । अब भने हामी सोसलिस्ट र र्याडिकल डेमोक्र्याटिक दुवै हौं । त्यसैले हाम्रो वैचारिक कुरा प्रस्ट भएको छ ।

सांगठनिक सुधार 

हाम्रो सांगठनिक गतिविधिमा पनि हाम्रा भूलहरू भए । सुरुवातमा डा. बाबुराम भट्टराईले त पार्टी फुटाउनुभएको होइन । आफू मात्र पार्टीबाट निस्किएर सबै दलभित्र र बाहिर रहेका विभिन्न क्षमताका प्रगतिशील व्यक्ति र जनतालाई उहाँले आह्वान गर्नुभएको हो । 

त्यसपछि गोलबन्ध भएको शक्तिलाई पार्टीको आकार दिने क्रममा हाम्रा केही त्रुटि भए । जस्तो कि केन्द्रीय कमिटी कसरी निर्माण गर्ने, कत्रो बनाउने, कसरी चयन हुने भन्नेदेखि लिएर तल्लो निकायसम्म नेतृत्व चयनको कुरामा हाम्रो त्यति ध्यान पुगेन । यसमा ध्यान दिने हामीसँग समय पनि भएन । 

हामीले समीक्षा गर्यौं । अब महाधिवेशनमा जान्छौं । महाधिवेशनलाई हामीले पूर्ण रूपमा सहभागितामूलक लोकतन्त्र र प्रत्यक्ष लोकतन्त्रको अभ्यासद्वारा नेतृत्व चयन गर्ने भएपछि एउटा सिस्टम बन्छ । निर्वाचनदेखि पार्टी निर्माणको काममा त्यति समय दिन सकेका थिएनौं । 

मुख्य कुरा गल्तीबाट सिकेर अगाडि बढ्ने हो । गल्ती भएकै छैन भनेर हठी भयौं भने अरूभन्दा फरक हुँदैनौं । नयाँ शक्ति यो अर्थमा पनि नयाँ हो कि यसले परिस्थितिजन्य कमजोरीहरूलाई आत्मसात् गरेर, त्यसबाट सिकेर अगाडि बढ्छ । बोलीले होइन कि एउटा सिस्टम बनाएर, पद्धति बनाएर पार्टी निर्माण गर्ने दिशामा छौं । 

सँगसँगै लुम्बिनी बैठकपश्चात् युवाहरूलाई कार्यकारीमा विशेष स्थान दिइएको हुनाले म बढी आशावादी छु । छलफल, बहसलाई अझ जीवन्त बनाउन सकिन्छ । संगठन निर्माणमा युवाले कुशलता देखाउने आशा गर्न सकिने अवस्था छ ।

(रमेश दवाडीसँगको कुराकानीमा आधारित)
 

  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार १३:५०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया