एसईईको पहिलो दिन : मधेस प्रदेशमा कहाँ, के भयो?

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको पहिलो दिन धनुषामा एकजना परीक्षा निरीक्षक पक्राउ पर्नुका साथै एउटा परीक्षा केन्द्रमा ५० मिनेट ढिलो गरी परीक्षा सुरु भएको छ । त्यस्तै, बाराको एक परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र आउट भएको थियो । 

जिल्लाको लक्ष्मिनीयाँ गाउँपालिकाको सपहीस्थित विपि कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।   

यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँमा शिक्षक पदमा कार्यरत यादवलाई विपि कोइराला माविको परीक्षा निरीक्षकमा खटाइएको थियो । परीक्षाको पहिलो दिन नै मर्यादाविपरीतको काम गरेपछि उनी पक्राउ परेका छन् ।  

परीक्षा निरीक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उता, अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको औरही गाउँपालिकास्थित मावि चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको थियो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको थियो ।



प्राविधिक गडबडीका कारण अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्नपत्र पाइएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए ।

सो परीक्षा केन्द्रमा मुचुल्का गरेर ५० मिनेट ढिलो गरी परीक्षा सुरु गरिएको थियो । त्यस्तै, बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा सुरु भएलगत्तै फेसबुकमार्फत प्रश्नपत्र आउट भएको थियो ।  



परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकको लापरबाहीले सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने आशंका छ ।

प्रश्नपत्र बाहिररिएको विषयमा सोधपुछ गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । विद्यार्थीले नै प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीलाई सामाजिक सञ्जालमा पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।  

मधेसमा ७९ हजार ९४ परीक्षार्थी 

यस वर्षको एसईई परीक्षामा मधेस प्रदेशका २७९ परीक्षा केन्द्रमार्फत ७९ हजार ९४ जना परीक्षार्थी सहभागी भएका छन् । परीक्षाका लागि २७९ केन्द्राध्यक्ष, ५२८ सहायक केन्द्राध्यक्ष, ७९६ परीक्षा सहायक, ४ हजार ६९ जना निरीक्षक, १ हजार ६२८ कार्यालय सहायक गरी ७ हजार ५७९ कर्मचारी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

यस वर्षको एसईईमा सप्तरीमा ३६ परीक्षा केन्द्रमार्फत ९ हजार ५२७, सिरहामा ४० परीक्षा केन्द्रमार्फत १० हजार १५०, धनुषामा ४३ परीक्षा केन्द्रमार्फत १२ हजार १४६, महोत्तरीमा ३१ परीक्षा केन्द्रमार्फत ९ हजार ५४, सर्लाहीमा ३७ परीक्षा केन्द्रमार्फत १० हजार ९१६, रौतहटमा ३५ परीक्षा केन्द्रमार्फत ८ हजार ९५७, बारामा ३२ परीक्षा केन्द्रमार्फत ९ हजार १७९ र पर्सामा २५ परीक्षा केन्द्रमार्फत ९ हजार १६५ जना परीक्षार्थी सहभागी भएका छन् । 

  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १३:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया