वडा कार्यालय साविककै ठाउँमा राख्नुपर्ने माग गर्दै जनकपुरधाम-२३ का स्थानीय आन्दोलित

जनकपुरधाम उपमहानगरपालिका–२३ को वडा कार्यालय साविककै ठाउँमा सुचारु गर्नुपर्ने माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । सुरुदेखि नै बिन्धीमा रहेको जनकपुरधाम–२३ को वडा कार्यालयलाई लादोबेलामा सारेको भन्दै वडाध्यक्ष राघवेन्द्र साहविरुद्ध स्थानीय आन्दोलित भएका हुन् ।  

बिन्धीस्थित वडा कार्यालयमा वडाध्यक्ष र सचिव केही दिनदेखि उपस्थित नहुँदा स्थानीयको कामकाज प्रभावित भएको भन्दै उनीहरूले सोमबार वडा कार्यालय सुचारु गर्नुपर्ने माग गर्दै धर्ना दिएका छन् । 

स्थानीय चन्दन रायले साह वडाध्यक्षमा निर्वाचित भएदेखि नै सो वडामा जातीय तथा क्षेत्रीय द्वन्द्व फैलाउनुका आपसमा मतभेद गराउन खोजेको आरोप लगाए । वडाध्यक्ष साहले कुनै लिखित सूचना नदिइ कसैको जानकारीबिना वडा कार्यालयलाई आफू अनुकूल अन्यत्र सारेर अस्थायी वडा कार्यालय निर्माण गरी बस्दै आएको पूर्ववडाध्यक्ष शत्रुधन पाण्डेको आरोप छ ।

धर्नामा बसेका उनीहरूले तत्काल साविककै ठाउँमा वडा कार्यालय सञ्चालन गर्नुपर्ने माग गरेका छन् । साविकको ठाउँमा वडा कार्यालय चाँडै सुचारु नभए कडारूपमा अगाडि बढ्ने बिन्धीबासीले चेतावनीसमेत दिएका छन् । 

वडा कार्यालय सार्ने विषयलाई लिएर बिन्धीबासीले लगातार विरोध गर्दै आएका छन् । बिन्धीमा वडा कार्यालय रहँदा सबैलाई पायक पर्ने, सबै वडाबासीलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय अन्यत्र सार्न नहुने स्थानीयको भनाइ छ ।



यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाले पनि वडा नम्बर–२३ को वडा कार्यालय साविककै भवनमा सञ्चालन गर्न पत्राचार गरेको छ । तर, वडाध्यक्ष साहले भने उपमहानगरको निर्णयको समेत अवज्ञा गरेका छन् ।



उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले गत ९ चैतमा वडाध्यक्षलाई पत्राचार गर्दै साविकदेखि बिन्धीमा सञ्चालन हुँदै आएको वडा नम्बर–२३ को वडा कार्यालयलाई साविककै भवनमा तत्काल सञ्चालन गर्न निर्देशन दिए पनि वडाध्यक्ष साहले अटेर गरेको स्थानीयको गुनासो छ । 

वडाध्यक्ष साहले आफ्नो वडाबाट हुने काम ८ चैतदेखि गोविन्द सेवा समिति दूधमती पुल बेलाबाट सञ्चालन गरिरहेका छन् । वडाध्यक्ष साहले आफूले कानुनसम्मत तरिकाले वडाको काम सञ्चालन गरिरहेको दाबी गरे । उनले बिन्धीमा वडा कार्यालयको निजी भवन नहुँदा अव्यवस्थित तरिकाले सञ्चालन भइरहेको अवस्थामा कार्य सञ्चालन गर्न असहजता उत्पन्न भएको बताए ।

वडाध्यक्ष साहले तत्कालका लागि मात्र गोविन्द सेवा समिति दूधमती पुल बेलाबाट कार्यालय सञ्चालन भइरहेको बताए । ‘म निर्वाचित जनप्रतिनिधि हुँ, मेरो पनि केही अधिकार क्षेत्र होला । त्यसको प्रयोग मैले गर्न पाउनु पर्दछ,’ उनले भने । 

वडाध्यक्ष साहले यसअघि दुई/दुईपटक वडा कार्यालयको निजी भवन निर्माणका लागि उपमहानगरले बजेट उपलब्ध गराए पनि पूर्ववडाध्यक्षले भवन निर्माण नगरी बजेट फ्रिज गराएको आरोप पनि लगाए ।

वडामा रहेको ९०३ नम्बर कित्ताको जग्गा अलपत्र परेको अवस्थामा भवन निर्माणका लागि ३५ लाख रुपैयाँ बोर्ड निर्णयबाट बजेट निकासा गर्न लगाएको र चाँडै भवन निर्माणको प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

उनले यस वडामा काम गर्न असहज रहेको र हरेक कुरालाई राजनीतिक मुद्दा बनाउन खोजिएको गुनासोसमेत गरे । केही व्यक्ति वडा भेलामा उपस्थित नै नभइ आपसमै आन्तरिक द्वन्द्व गराउन सक्रिय रहेका पनि वडाध्यक्ष साहको आरोप छ । 

  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार १२:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया