‘बुवाले हेलिकोप्टर ठोक्कियो भन्नुभयो, दौडेर एक घन्टामा आइपुगेँ’

काठमाडौं– ताप्लेजुङमा भएको डाइनेस्टी एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको ठाउँमा सबैभन्दा पहिले पुगेका थिए, सुरज भट्टराई । स्थानीय होटल व्यावसायी सुरजलाई पाथीभरामा रहेका उनका बाबुले फोन गरेर हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिएका थिए । 

‘बुवाले फोन गर्नुभयो र आत्तिँदै भन्नुभयो– हेलिकोप्टर ठोक्कियो, आगो बलिरहेको छ,’ उनले फरक धारसँगको टेलिफोन कुराकानीमा भने । 

सुरजले बाबुको फोन आउना साथ नजिकै रहेको प्रहरी चौकी जाने मेसो मिलाए । र, उनी निस्किए । प्रहरी चौकीमा हवल्दार थिए । उनले एकै सासमा भने– बुवाले फोन गर्नुभएको थियो, हेलिकोप्टर ठोक्कियो रे, आगो बलिरहेको छ रे । जाऔँ । 

त्यसको केही माथि उनीहरु हेल्थपोस्टमा पुगे । अब सुरज र हवल्दारले त्यही कुरा त्यहाँ रहेका एक ‘चिकित्सक’लाई भने । ‘हामीले डाक्टरलाई भन्यौँ, अनि दौडिन थाल्यौँ,’ उनले भने । 

तीन जना दुर्घटनास्थलमा पुग्दा झन्डै एक घन्टा लाग्यो । ‘खासमा यो बाटो त चार घन्टा आसपास लाग्ने बाटो हो,’ सुरजले भने, ‘तर, हामी दौडिँदै आयौँ, कोही बाँचेको छ कि घाइते छ कि भन्ने आश थियो ।’

तर, दुर्घटनास्थल पुग्दा सुरजहरुले कसैलाई पनि जीवित पाएनन् । ‘आगो बलिरहेको थियो, धुँवाको मुस्लो आइरहेको थियो,’ उनले भने, ‘हामीले कोही जीवित छ कि भनेर हेर्न थाल्यौँ । तर, कोही जीवित थिएन ।’



त्यसपछि उनीहरु त्यहाँ नै बसे । केही समयपछि अन्य व्यक्तिहरु आइपुगे । दुर्घटनास्थल पुगेपछि मात्र सुरजहरुलाई त्यो हेलिकोप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य व्यक्ति थिए भन्ने थाहा भयो । 

यत्तिकै बसिरहँदा सुरजहरुले किन भयो होला दुर्घटना भन्ने अनुमान गर्न थाले । ‘हामीले सम्झियौँ, त्यति बेला निकै ठूलो हावाहुरी चलेको थियो,’ उनले भने, ‘सायद यो भीरमा तीन तिरबाट आएको हावाले हेलिकोप्टरलाई मडार्यो होला । हामीले हेर्दा थाहा पायौँ, हेलिकोप्टर तीन चट्टानमा ठोक्किएर भुइँमा पछारिएको छ ।’



फोनमा कुराकानी गर्दा सुरजले त्यस स्थानमा धुम्म भएको र हावा चलिरहेको तर पानी नपरेको बताए । ‘पाँच मिनेट मात्र ढिलो गरेर उडान भरेको भए पनि यस्तो हुने थिएन होला,’ उनले भने । 


  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १८:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया