बुर्तिवाङमा तीव्रगतिमा बढ्दै जनघनत्व, फोहोर व्यवस्थापनमा समस्या

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिवाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।  

वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन । बजारको फोहोर व्यवस्थितरूपमा व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहोर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ ।

ढोरपाटनले ६ वर्षदेखि बाघखोरमा फोहोर व्यवस्थापन गर्दै आएको छ । त्यसअघि भूजीखोलामा फोहोर व्यवस्थापन गर्ने गरिएको थियो । अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहोर खोलामा बग्ने गरेको छ । अव्यवस्थितरूपमा व्यवस्थापन गरेको फोहोर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ ।   

फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहोरबाट जलचर प्राणीलाई समेत असर पुगेको छ । अहिले फोहोर व्यवस्थापन गर्दै गरेको ठाउँ नगरपालिका–३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको डम्पिङसाइटका कारण यात्रुलाई समस्या भएको छ ।     

बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन् । पैदलयात्रुलाई फोहोरको दुर्गन्धले समस्या भएको छ । बुर्तिवाङबजारको फोहोर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ । कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फाल्ने गरिएको छ । साँघुरो ठाउँ हुँदा फोहोर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए । 

फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ । ‘बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौँ, हालसम्म पाएका छैनौँ,’ उनले भने ।      



सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए । वरपरको क्षेत्र दुर्गन्धित बनिरहेको उनको भनाइ छ । ‘फोहोर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानीपर्‍यो भने सबै फोहोर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ,’ सिर्पालीले भने । रासस 



  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार ९:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया