प्रमुख तीन दलको बैठक : दाहालको अभिव्यक्ति संसद रेकर्डबाट हटाउने सहमति

प्रमुख तीन दलहरूबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति जुटेको छ । शनिबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकमा यो सहमति भएको हो । 

केही दिन अघि संसदमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 

संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो । 

भेटमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने निराधार आरोपको संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथिको आरोप निराधार रहेको कुरा सम्बोधनका क्रममा उल्लेख गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । 

उनले जलहरी प्रकरणमा ओलीको संलग्नता नरहेको र तथ्यहीन आरोप रहेको कुरा प्रधानमन्त्रीले सम्बोधन गर्नेमा सबै तीन दल सहमत भएको बताए । उनले भने, ‘यो तथ्यहीन र आधारहीन कुरा संसदमा यसरी प्रस्तुत गर्ने कुराले जनतामा भ्रम सिर्जना हुन्छ, त्यो गलत भएको हो, त्यसमा हामीले गलत नै भन्नुपर्छ यसमा सत्यता छैन भन्ने हिसावले प्रधानमन्त्रीज्युले संसदमा सम्बोधन गर्ने र भविष्यमा यस्ता तथ्य र आधारहीन कुरा माननियज्युहरुले अभिव्यक्त गर्न नपाउने भन्ने कुरामा छलफल भएको छ, प्रधानमन्त्रीज्युले त्यो विषय सदनमा राख्नुहुन्छ । भिडियो रेकर्डबाट हट्छ, जलहरीको बारेमा आएको कुरा तथ्यहीन भएकाले रेकर्डबाट हट्ने सहमति भएको छ भने दुई अर्बको कुरा पनि निराधार भएकाले त्यो विषय पनि रेकर्डबाट हट्नेछ ।’

उनले भ्रष्टाचारका जति पनि मुद्दाहरूमा नेकपा एमाले छानबिन गर्न तयार रहेको बताए । शुक्रबार एमालेको अवरोधले स्थगित संसद बैठक आज दिउँसो ४ बजे बस्दै छ ।  





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार ११:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया