गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै स्थानीय आन्दोलित

कैलालीको गोदावरी नगरपालिका गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि स्थानीय आन्दोलित भएका छन् । सरकारले प्रतिष्ठानको मोडालिटी अगाडि सारेको बन्दै युवाहरुको अगुवाइमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । 

सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेट भाषणमा गेटामा एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने उल्लेख गरेको छ । तर, स्थानीयले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन थालेका हुन् । 

आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि बिहीबार अत्तरिया चोकमा एक घण्टा चक्काजाम गरिने भएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने जानकारी बुधबार धनगढीमा पत्रकार सम्मेलनमार्फत दिएको हो ।

पत्रकार सम्मेलनमा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दबाब दिन आन्दोलित भएको छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेट भाषणमा मन्त्रिपरिदको निर्णयविपरीत एक सय शय्याको मेडिकल प्रतिष्ठान बनाउने निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत चक्काजाम गर्न लागिएको बताए । उनले सरकारले लाखौँका संरचना निर्माण गर्दा पनि मेडिकल कलेज सञ्चालनमा बेवास्ता गरेको आरोप लगाए । 

उनले प्रतिष्ठान बन्न पनि दुई सय बेडको अस्पताल आवश्यक पर्ने भए पनि सरकारले एक सय बेडको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गर्नुबाटै पनि गेटामा मेडिकल माफियाको इसारामा काम भएको प्रस्ट बुझ्न सकिने बताए ।



आन्दोलनका कार्यक्रमअन्तर्गत जेठ भोलि बिहान ११ बजेपछि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जनाइएको छ । यस्तै भोलि नै विभिन्न राजनीतिक दलसँग अन्तरक्रिया एवं परामर्श गर्ने कार्यक्रमसमेत रहेको छ । यति गर्दा पनि सरकारले बेवास्ता गरे थप संर्घषका कार्यक्रम अगाडि सार्ने स्थानीयको चेतावनी छ । 

यसअघि अत्तरियामा सम्पन्न भएको संघर्ष समितिको बैठकले पूर्वसंघीय सांसद डाक्टर दीपकप्रकाश भट्टको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्ने निर्णयसमेत गरेको छ । बुधबार बिहान बसेको संघर्ष समितिको बैठकले आन्दोलन प्रभावकारी बनाउन राजनीतिक दलहरूसँग समन्वय गर्न आनन्द भट्टलाई जिम्मेवारी तोकेको छ ।



विभिन्न संघ–संस्थासँग समन्वय गर्न गणेश शाहलाई जिम्मेवारी दिइएको छ भने विद्यार्थी र युवासँग समन्वय गर्न पुष्कर जोशीलाई जिम्मेवारी तोकिएको छ । यस्तै, प्राविधिक सहजीकरणको जिम्मा दीपक ओझा, महिलाहरूसँग समन्वय गर्ने जिम्मा धर्मी खड्का, जनप्रतिनिधिसँग समन्वय गर्ने जिम्मेवारी जयराज फुलारालाई तोकिएको छ ।

संघर्ष समितिले कार्यालय सहजीकरण गर्न यज्ञराज कापडी, उद्योग व्यापार तथा आर्थिक ममिलाको जिम्मा भुवनेश्वर भट्ट, सूचना सञ्चारको जिम्मा महेश महर, व्यवस्थापनको जिम्मा तिलकराज भण्डारी र युवा सहजीकरणको जिम्मा जयबहादुर धामीलाई दिइएको छ । 

गेटामा दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय हुन नदिन मेडिकल माफियाले चलखेल गरेको आशंका गरिएको छ । गेटामा स्वास्थ्य विश्वविद्यालय निर्माणका लागि सघर्ष गरिरहेको समितिले यसअघि सरकारकै विश्वविद्यालय बनाउने निर्णयविपरीत एकाएक बजेटमा प्रतिष्ठानका बनाउने योजना मेडिकल माफियाको चलखेलमा आएको बताएका छन ।

संघर्ष समितिका समितिका उप–संयोजक आनन्द भट्टले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढेका बेला प्रतिष्ठान बनाउने कुराले जनताको सपना माथि तुसारापात भएको बताए । उनले यस्तो हुन नदिन संघर्षका कार्यक्रम आवश्यक रहेको बताए । समितिका सचिव धर्मसिंह कुँवरले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि जनप्रतिनिधिमार्फत पनि दबाबका कार्यक्रम अगाडि बढाइनुपर्ने बताए ।

पूर्वसांसद डा. दीपक भट्टले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनको लागि विधेयकको ड्राफ्ट तयार भएर अर्थ, कानुन मन्त्रालयमा पुगिसकेको परिप्रेक्ष्यमा यस क्षेत्रका सांसदकै कारण ब्याक भएको बताए । उनले यस क्षेत्रबाट निर्वाचित सांसदले नै विश्वविद्यालय चाहिएन भनेपछि अहिलेको गडबडी भएको आरोप लगाए । 

सरकारले ०७९ माघ २९ गते मन्त्रिपरिषद्को निर्णयबाट गेटामा दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको छ । यसअघि गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्ने भन्दै विभिन्न संघर्षका कार्यक्रम गरिएका थिए । सोहीअनुसार सरकारले दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेर विधेयक बनाउने काम अगाडि बढाएर नीति तथा कार्यक्रममा पनि समेटेको थियो । 

  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार २३:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया