जंगली जनावरप्रभावित क्षेत्रमा जडीबुटी खेती

कञ्चनपुरको पुर्नवास–११ अमरवस्तीका विष्णुप्रसाद चौधरी खाद्यान्न बालीका साथसाथै जडीबुटी खेती पनि गर्ने गरेका छन् । जडीबुटी खेतीका बारेमा थाहा नपाएका उनले तराई भू–परिधि कार्यक्रम (ताल)ले आफ्नो ठाउँमा प्रशोधन मेसिन सञ्चालनमा ल्याएपछि धेरै कुरा थाहा पाए । तालले अमरवस्तीमा रहेको अमर गोकुल सामुदायिक वनमा मेन्था प्रशोधन मेसिन सञ्चालनमा ल्याएको हो । 

आफ्नै घर–आँगनमा मेन्था प्रशोधन मेसिन सञ्चालन भएपछि अमरवस्तीका धेरै किसानले जडीबुटी खेती सुरु गरेका छन् । विष्णुले मेन्था खेतीबाटै घर खर्च र छोराछोरीलाई स्कुल पढाएको बताए । उनले भने ‘मेन्था खेतीबाट सन्तुष्ट छु । आम्दानी पनि राम्रो हुन्छ ।’ उनले अन्य बालीभन्दा चार गुणा बढी फाइदा हुने भएकाले आफूले पाँच वर्षदेखि मेन्था खेती गरिरहेको बताए ।

‘मेन्था लिटरको पाँच हजारमा बिक्री हुन्छ, यसबाट कम मिहिनेतमा धेरै आम्दानी हुन्छ,’ उनले भने, ‘फागुनमा रोपेको मेन्था जेठ–असारमा भइहाल्छ । यसमा धेरै फाइदा छ ।’ उनका अनुसार मेन्था तोरी बाली पाकेपछि लगाउन सुरु गरिन्छ र थोरै जमिनमा पनि राम्रो आम्दानी हुने गरेको छ । मेन्था खेती गरेसकेपछि फेरि धान खेती पनि सहजै गरिन्छ । उनले यसपालि दुई कठ्ठा जमिनमा मेन्था खेती गरेका छन् । मेन्थाबाट उत्पादन भएको तेल गाउँघरमै पनि खपत हुने गरेको उनको भनाइ छ । 

पछिल्लो समय अमरबस्तीका किसान व्यावसायीक जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन गरेको जडीबुटीको तेलबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक जडीबुटी खेतीमा लागेका हुन् । वन क्षेत्रको नजिक स्थानीय जंगली जनावरले खाएर नष्ट गर्न थालेपछि त्यसको विकल्पका रूपमा पनि कृषकहरुले जडीबुटी खेती गर्न लागेका हुन् । अमरबस्तीमा विशेषगरी मेन्था र कुरिलोको खेती भइरहेको छ । 

अमरबस्तीकै अर्का किसान मानबहादुर चौधरीले पनि यस वर्ष तीन कठ्ठा जमिनमा मेन्था खेती गरेका छन् । ‘एउटा सिजनको खेतीबाट ६० देखि ७० हजार आम्दानी हुन्छ’, उनले भने, ‘अन्नबालीभन्दा यसबाट बढी फाइदा पुग्न थालेपछि किसानको आकर्षण बढ्दै छ ।’ मेन्थाको तेल प्रतिलिटर पाँच हजारमा बिक्री हुने गरेको उनको भनाइ छ । मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएको हो ।

गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान मानबहादुरले यस वर्ष पनि खेती गरेका हुन् । ‘दुई बाली खेती भित्र्याएपछि खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो । यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ’, उनले भने । 



मेन्था सहज रूपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको उनले मानबहादुरको बुझाइ छ ।

रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भइरहेको उनले उल्लेख गरे । ‘यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन,’ उनले भने, ‘मेन्था खेती गाईबस्तुले पनि नोक्सान गर्दैनन् । यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ । जडीबुटी खेती गरेमा फाइदा धेरै छन् ।’



किसानले मेन्था प्रतिकठ्ठा चार किलो उत्पादन गर्ने गरेको बताउँछन् । उत्पादन भएको तेल खरिद गर्न धनगढी, नेपालगञ्जबाट व्यापारी गाउँमै पुग्ने गरेका छन् । जडीबुटीबाट उत्पादित तेल औषधि बनाउन बढी प्रयोग हुन्छ । 

थोरै जमिनमा पनि राम्रो आम्दानी हुने गरेकाले पछिल्लो समय गाउँमा जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढेको किसानको भनाइ छ ।  किसानसँगै यहाँका सामुदायिक वन समितिले पनि सामूहिक रूपमा पनि जडीबुटी खेती गरिरहेका छन् । जडीबुटी खेती गर्न गुणस्तरीय बीउबिजन सहजै उपलब्ध हुन नसकेको कृषकको गुनासो छ । 

जडीबुटी खेतीबाट राम्रो उत्पादन हुने भए पनि सरकारले ध्यान नदिएको किसानहरुको गुनासो रहेको छ । जंगलआसपासका किसानका लागि जुनसुकै जडीबुटी खेती पनि गर्न सकिने उनीहरुको बुझाइ छ । जडीबुटी खेती गर्न गुणस्तरीय बीउबीजन सहजै उपलब्ध  हुन नसकेको कृषकहरुले गुनासो गरेका छन् । सिँचाइको समस्या, परिणात्मक उत्पादन हुन नसक्नु र व्यपारीको अस्वस्थ प्रतिस्पर्धाले जडीबुटी खेतीको समस्या तथा चुनौतीको रूपमा रहेका छन् । 

  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार २३:३२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया