लयमा फर्कदै लुम्बिनीको पर्यटन, ५ महिनामा साढे ४ लाखले गरे अवलोकन

पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम पनि बढेको छ । पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मेसम्म ४ लाख ७० हजार ५ सय ४२ भन्दा बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । 

सन् २०२२ को जनवरीदेखि मे महिनासम्म ३ लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए  । गत वर्षको भन्दा यस वर्षको संख्या १ लाख ८ हजार ४ सय ८६ ले बढी छ ।

सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार ४ सय १३ जना राहदानी लिएका, ३ लाख २४ हजार २ सय ६८  नेपाली र एक लाख ११ हजार आठ सय ६१  भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ । गत वर्ष २ हजार ६ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार ५ सय ९४ नेपाली र ६९ हजार ७ सय ७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ । 

यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्याण्डका ८ हजार २ सय ४७, श्रीलंकाका ५ हजार ७ सय २१, म्यानमारका ५ हजार ३ सय ९८, भियतनामका ३ हजार २ सय ३५, कोरियाली २ हजार ६ सय २९, चिनिया १ हजार २ सय ८ र अन्य देशका ७ हजार ६ सय ७५ जना राहदानीका नागरिकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

गत वर्ष यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी २ हजार ६ सय ८७, नेपाली २ लाख ८९ हजार पाँच सय ९४ र भारतीयको संख्या ६९ हजार ७ सय ७५ रहेको थियो । तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी ६ हजार ९ सय २३, थाई ४ हजार ३ सय ८०, श्रीलंकन १ हजार ८ सय ८५, म्यानमारका १ हजार चार सय ९५ तथा अन्य ९ हजार २ सय ५९  छन् । 

कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका १ हजार १ सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार एक सय सात, फेब्रुअरीमा २१ हजार ६ सय ६७ र मार्च महिनामा ८ हजार ३ सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट दुई हजार एक सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए ।  



सन् २०२१ मा ४ लाख ६३ हजार ६ सय ६३ जना नेपाली र ४३ हजार ७ सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा २ लाख १० हजार ३३ जना नेपाली र ३७ हजार २ सय ६ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले जनाएको छ । 

त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रो मुलुक गरी कूल १५ लाख ५८ हजार ३ सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । यो तथ्याङ्क मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो । मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेका कोषले जनाएको छ । 



लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्ध धर्मको जन्मस्थल मानिन्छ । लुम्बिनीलाई विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले जानकारी दिए । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक संख्याको  वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताए । ‘यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ,’ उनले भने । रासस 

  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार ९:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया