नक्कली शरणार्थी प्रकरण : आजदेखि अभियुक्ततर्फका कानुन व्यवसायीको बहस

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठीक प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्ने भएका छन् । 

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार सरकारी वकिलका तर्फको बहस सकिएपछि आजदेखि प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्न लागेका हुन् ।    

थुनछेक बहस यही ३१ जेठसम्म जारी रहनेछ । त्यसपछि आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइनेछ । 

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलले दलिल पेस गरेका छन् ।

यस प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनाको थुनछेक भइरहेको हो ।

पक्राउ परेका १८ जनासहित ३० जनाविरुद्ध सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा यही १० जेठमा मुद्दा दायर गरेको थियो ।





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार ९:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया