सरकार–स्वतन्त्र मधेस गठबन्धन सहमतिबारे कांग्रेसको धारणा सार्वजनिक

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमतिबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

सहमतिको पहिलो बुँदामा उल्लेखित ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो’ भन्ने बुँदाले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मूलधारमा आउन सहमत गराएको सन्देश दिएकाले सो बुँदा स्वागतयोग्य भएको कांग्रेसको धारणा छ ।  

तर बुँदा नं २ मा उल्लेखित ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ’ भन्ने वाक्यले पहिलो बुँदालाई खण्डित गरेको मात्रै नभई विखण्डनको आकांक्षालाई राज्यकै तर्फबाट वैधानिकता दिएको आरोप कांग्रेसले लगाएकाे छ ।  

जनमतमा आधारित लोकतान्त्रिक विधिको अर्थ जनमत संग्रह बुझिने भएकाले सरकार स्वयं राष्ट्रघाती षड्यन्त्रमा सहभागी भएको हो कि भन्ने आशंका गर्दै कांग्रेसले सत्तापक्ष र गठबन्धन पक्षले सम्झौताको यो पंक्तिको साझा व्याख्या मुलुकसमक्ष तत्काल प्रस्तुत गर्नुपर्ने उल्लेख गरेको छ । 

सिके राउतले सरकार जनमत संग्रह गर्न सहमत भएको भनेर व्याख्या गर्दै स्वतन्त्र मधेसको ब्यानरसहित उनको उपस्थितिमा प्रदर्शन हुँदा सरकारले भने सामान्य प्रतिक्रिया जनाएकोमा असन्तुष्टि जनाउँदै कांग्रेसले तत्काल साझा मत निर्माण गर्न गम्भीर पहलकदमी नगर्नु रहस्यमय भएको बताएको छ । 

कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्दा वर्तमान प्रधानमन्त्रीले त्यसलाई राष्ट्रघातको संज्ञा दिएको स्मरण गर्दै कांग्रेसले संविधान संशोधनको प्रस्ताव राष्ट्रघाती कि जनमत संग्रह सम्झौता राष्ट्रघाती ? भनेर सरकारलाई प्रश्न गरेको छ ।  



तराई–मधेसका आमनागरिकको भावना अखण्ड नेपाल र बलियो नेपाली राष्ट्रियता हो भन्ने तथ्यभन्दा पर गएर राष्ट्रिय एकतालाई खलल पुर्याउन खोज्ने गतिविधिको नेपाली कांग्रेसले घोर भर्त्सना गरेको छ । 



  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १७:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया