बंगलादेशकाे २२ तल्ले एफआर टावरमा भीषण आगलागी, २५ जनाको मृत्यु

ढाका – बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । 

राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ । 

आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए । 

अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा छ जनाको मृत्यु ज्यान जोगाउन हामफालेका कारण भएको थियो । 

एक जना वरिष्ठ अग्निनियन्त्रण अधिकारी मोहसिन अलिले भवन खाली गराएर खोजतलास शुरु गरिएको जानकारी दिए । उनले आगलागीबाट सबैभन्दा बढी प्रभावित आठदेखि दशौं तल्ला रहेको बताए । 

‘आगलागीबाट मृत्यु हुनेको संख्या २५ पुगिसक्यो । हामीले २४ जनाको शव उनीहरुको आफन्तलाई जिम्मा लगाइसक्यौं,’ ढाका महानगरीय प्रहरीका उपआयुक्त मोस्ताक अहमदले बताए । 

आगलागीबाट अरु व्यक्तिको मृत्यु भएको वा हराइरहेको भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीको भनाइ छ । तर ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । 

उक्त आगलागी बिहीबार अपराह्न शुरु भएको थियो । आगलागीको चपेटामा परेका व्यक्तिको उद्धारका लागि ठूलो संख्यामा स्थानीयवासी जुटेका थिए । 

अग्निनियन्त्रकहरुलाई सैनिक सहयोग समेत प्राप्त भएको थियो । सैनिक हेलिकप्टरबाट केहीको उद्धार गरिएको थियो । अग्निनियन्त्रकहरु लामा भ¥याङको सहायताबाट भवनका झ्यालका सिसा फुटाएर उद्धार कार्यमा जुटेका थिए । 

गत महिना पनि ढाकाको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको थियो । गैरकानुनी रुपमा राखिएको रसायन बिस्फोट हुँदा उक्त अपार्टमेन्टमा भीषण आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न १२ घण्टाभन्दा बढी समय लागेको थियो । 

सन् २०१२ को एक अध्ययनले बंगलादेशका गगनचुम्बी भवनहरुमा आगलागी नियन्त्रणको पर्याप्त व्यवस्था नगरिएको देखाएको छ । ‘केबल दुईवटा भवन सुरक्षित देखिए,’ बंगलादेश विश्वविद्यालयका प्रोफेसर मेहेदी अहमद अन्सारीले बताए । विश्वविद्यालयले ढाकास्थित ११२ वटा भवनको अध्ययन गरेको थियो । 

राजधानी ढाका नजिकैको निम्तोलीमा सन् २०१० मा भएको भीषण आगलागीमा १२३ जनाको मृत्यु भएको थियो । नोभेम्बर २०१२ मा पनि ढाकाको एक नौ तल्ले तयारी पोशाक कारखानामा आगलागी हुँदा १११ जना कामदारको मृत्यु भएको थियो । 

अनुसन्धानका क्रममा आगलागी हुँदा बाहिर निस्कन बनाइएका आपतकालीन ढोकाहरु चाबी लगाएर बन्द गर्ने गरिएको वा त्यस्ता ठाउँमा सामान भण्डार गर्ने गरिएको पाइएको थियो । 





  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १३:१४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया