नेपालको पहिलो नानाे स्याटेलाइट आज राति प्रक्षेपण हुने

काठमाडाैं– नेपालले आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति प्रक्षेपण गरिने भएको छ । आज राति २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट नेपाली झन्डासहितको नानाे स्याटेलाइट प्रक्षेपण गरिनेछ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरुले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गर्न लागिएको हो ।

यो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नास्टका वैज्ञानिकहरुले बताएका छन् । 

जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसंघको सहकार्यमा ६ वर्षदेखि बर्डस् कार्यक्रमअन्तर्गत आफ्नै भूउपग्रह नहुने मुलुकको क्षमता विकास गर्न सघाइरहेको छ । सोही कार्यक्रमअन्तर्गत नेपाली वैज्ञानिक आवास मास्के र हरिराम श्रेष्ठले जापानमा बसेर नानो स्याटेलाइट बनाएका हुन् ।

१० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ भएको यो स्याटेलाइटकाे ताैल एक किलाे तीन सय ग्राम छ । नानोको आयु बढीमा तीन वर्ष छ । तीन वर्षपछि यो आफैँ जलेर ध्वस्त हुनेछ । 



सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीको नाम पनि छ ।

नेपाल सरकारले यसका लागि एक करोड ८२ लाख रुपैयाँ सहयाेग गरेकाे छ । प्रक्षेपणका  लागि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेलाई यो स्याटेलाइट हस्तान्तरण भइसकेको छ ।



नानो स्याटेलाइट लन्चिङ सफलता दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत छ । सोहीअनुसार स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. सुरेशकुमार ढुंगोल बताउँछन् । 

यो स्याटेलाइट जेठको पहिलो वा दोस्रो साता अन्तरिक्षमा रिलिज हुनेछ र यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउनेछ साथै माैसमी सूचना पनि दिन सक्नेछ । 

याे स्याटेलाइटले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने छ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउने छ ।

यसलाई केही दिनमै नेपाली स्याटेलाइट-१लाई नेपालकै पहिलो स्याटेलाइटका रुपमा दर्ता गरिँदैछ ।

पहिलोपटक प्रक्षेपण गर्न लागिएको नानो स्याटेलाइट व्यावसायिक प्रयोजनका लागि नभई ज्ञान र क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण मानिएको छ । 


  • प्रकाशित मिति : वैशाख ४, २०७६ बुधबार ७:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया