नेकपा एकता : जिल्ला अध्यक्ष र सचिवमा गुट हावी

काठमाडौँ– पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकताको घोषणा भएको लगभग एक वर्षपछि सोमबार एक कार्यक्रमबीच पार्टी सांगठनिक एकता घोषणा गरियो । सर्वसम्मतिका आधारमा एकता घोषणा भएको भनिए पनि पार्टीभित्रै एकताप्रति असन्तुष्टि कायम छ । 

मुख्यगरी वरिष्ठ नेता माधव नेपाल गुट एकता प्रक्रियाबाट असन्तुष्ट बनेको छ । नेकपाले आइतबार बेलुकी पार्टीको सचिवालय बैठक बसेर ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगायो । पार्टीको पोलिटब्युरो भने बनिसकेको छैन । 

नेकपा एकताको प्रक्रियाका क्रममा गुटगत राजनीतिले भने राम्रै प्रश्रय पाएको छ । अध्यक्षद्वय प्रचण्ड र ओली, माधव नेपाल, नारायकाजी, रामहादुर थापा बादलसम्मका नेताको गुटगत स्वार्थमा जिल्ला अध्यक्ष र सचिव चयन भएको देएिको छ । नेकपाले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला नेतृत्वको टुंगो लगाउँदा यी प्रमुख नेता हावी भए ।  

गण्डकी प्रदेशमा दुई अध्यक्षको पकड

गण्डकी प्रदेशका जिल्लामा पनि गुटगत आधारमा नेकपाले पदीय भागबण्डा गरेर नेतृत्व जिम्मा लगायो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये सात जिल्लामा पूर्वएमाले र चार जिल्लामा पूर्वमाओवादीका जिल्ला अध्यक्ष बनेका छन् । 

एमालेले पाएको ७ जिल्लामध्ये ६ जिल्लामा ओली पक्षका नेता अध्यक्ष भएका छन् भने एकजना मात्रै नेपाल पक्षका छन् । कास्कीमा कृष्ण थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, पर्वतमा पदम गिरी, तनहुँमा केदार सिग्देल, मनाङमा पाल्तेन छोयाङ गुरुङ र नवलपुरमा रोशन गाहा अध्यक्ष भएका छन् । उनीहरू सबै ओली पक्षका नेता हुन् । बाग्लुङ अध्यक्ष बनेका इन्द्रलाल सापकोटा मात्रै नेपाल समूहका नेता हुन् । पर्वतको जिल्ला अध्यक्ष भएका पदम गिरी र मनाङको अध्यक्ष भएका पाल्तेन छोयाङ गुरुङ संघीय संसदका सांसद हुन् । 



माओवादीको भागमा परेका चारैजना अध्यक्ष प्रचण्ड समूहका छन् । गोरखाका लेखबहादुर थापा, लमजुङका मधु अधिकारी, म्याग्दीका गोविन्द पौडेल र स्याङ्जाका सूर्यप्रसाद गैरे प्रचण्ड पक्षका हुन् । गोरखाका लेखबहादुर थापा गण्डकी प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । लमजुङ जिल्ला अध्यक्ष बनेकी अधिकारी गण्डकी प्रदेशका ११ जिल्लामा एक्ली महिला अध्यक्ष हुन् । 

सचिवमा प्रचण्ड समूह बलियाे 



नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको भागबन्डा एकैसाथ टुंग्याएको छ । गण्डकी प्रदेशका ११ मध्ये सात जिल्लामा पूर्वमाओवादीको भागमा सचिव पद परेको छ । त्यसमा पनि प्रचण्ड समूहकै बहुमत छ । कास्कीका बखानसिंह तमु, मनाङका वेदबहादुर गुरुङ, तनहुँका राजेन्द्रकेशरी न्यौपाने, मुस्ताङका सत्यनारायण शेरचन, बाग्लुङका ज्ञामनाथ गैह्रे, पर्वतका सुदीप कुँवर प्रचण्ड पक्षका हुन् । गण्डकीको एक जिल्ला नवलपुरको सचिवमा रामबहादुर थापा बादल समूहका नेता छन् । नवलपुर सचिव मित्रशरण शर्मा बादल पक्षका नेता हुन् । 

एमालेको भागका ४ सचिव सबै ओली पक्षधर

एमालेको भागमा परेका चार जिल्लामा ओली पक्षका नेतालाई सचिव बनाइएको छ । गोरखाका प्रेम गुरुङ, लमजुङका धनञ्जय दवाडी र स्याङ्जाका मीनप्रसाद गुरुङ, म्याग्दीका हरिकृष्ण श्रेष्ठ ओली पक्षका नेता हुन् । 

तीन जिल्लाका प्रदेश कमिटीमा अन्योल 

जिल्ला तहको नेतृत्व केन्द्रले ११ महिना लगाएर टुंग्यायो । तर, स्थानीय तहको नेतृत्व प्रदेश कमिटीले छलफल गरेर मात्र टुंगो लगाउने भनिएको छ । मंगलबार नेकपाको प्रदेश कमिटी बसेर स्थानीय तहको नेतृत्वको भागबन्डा मिलाउने प्रयास भएको थियो । गोरखा, कास्की र नवलपरासीको विषयमा सहमति नै जुट्न नसकेको र अन्य आठ जिल्लामा भने सहमति भइसकेको नेकपा स्रोतले जनायो । तर, नेतृत्वको नाम सार्वजनिक गर्न भने बाँकी रहेको स्रोतको भनाइ छ । 

  • प्रकाशित मिति : वैशाख १२, २०७६ बिहीबार १५:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया