किन दिन्छन् जिम्मेवार व्यक्ति नै गैरजिम्मेवार अभिव्यक्ति ?

काठमाडाैं– उपप्रधानमन्त्री ईश्वर पोखरेल वर्तमान सरकारमा रक्षामन्त्री छन् । तत्कालीन नेकपा एमालेका महासचिव पोखरेल माओवादी केन्द्रसँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पाटी (नेकपा)का सचिवालय सदस्य पनि हुन् । मुलुकको जिम्मेवार पदमा रहेका मन्त्री पोखरेलले वेलावेलामा दिएका विभिन्न अभिव्यक्तिको खण्डन हुँदै आएको छ । 

पदीय मर्यादाको ख्याल नगरी अभिव्यक्ति दिएको भन्दै उनले पार्टीभित्रैबाट आलोचना खेप्दै आएका छन् । रक्षामन्त्री पोखरेलले गत मंसिरमा निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र उनीहरूले अपराध स्वीकार पनि गरिसकेको अभिव्यक्ति दिएका थिए । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दिएको सो अभिव्यक्ति निकै विवादास्पद बन्यो । उनले निर्मलाका हत्यारा पक्राउ परिसकेको दाबी मात्रै गरेका थिएनन्, विधिसम्मत ढंगले सार्वजनिक गर्ने जानकारी पनि गराएका थिए । 

सरकारका उपप्रधानमन्त्रीले नै निर्मलाका हत्यारा पक्राउ परिसकेको र विधिसम्मत ढंगले सार्वजनिक गर्ने अभिव्यक्ति दिएपछि आममानिसले पत्याउने भइहाले । तर, हत्यारा पक्राउ परिसकेको उपप्रधानमन्त्री पोखरेलको अभिव्यक्ति झुटो साबित भयो । अहिलेसम्म पनि निर्मलाका हत्यारा पत्ता लागेको छैन । 

पर्याप्त प्रमाणविनै प्रहरीले दिएका यातनाका कारण सुस्त मनस्थिति भएका एक व्यक्तिले अपराध स्वीकार गरेको  खुल्न आएको थियो । त्यही बयानका आधारमा हौसिँदै सूचना चुहाउने प्रहरी र सोही सूचनाका आधारमा अभिव्यक्ति दिने उपप्रधानमन्त्री पोखरेलका कारण सरकार पनि विवादमा तानिएको थियो । पछि, निर्मला हत्या प्रकरणमा प्रहरी प्रशासनको कमजोरी भएको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आत्मालोचना गरेको थिए ।  

त्यसैगरी, रक्षामन्त्री पोखरेलले दिएको पछिल्लो अभिव्यक्ति पनि विवादित बनेको छ । त्यो हो, सामाजिक सुरक्षाभत्ता (वृद्धभत्ता) यसैपालि पाँच हजार पुग्ने । बुधबार नेकपा मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पोखरेलले सो कुरा बोलेका हुन् । पोखरेलले सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकारले पार्टीको घोषणापत्रअनुसार नै अघि बढ्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका छन्, वृद्धभत्ता आगामी बजेटबाटै पाँच हजार पुग्छ ।’ 

सरकारकै अर्का मन्त्री (श्रम तथा रोजगार मन्त्री) गोकर्ण विष्टले पनि वृद्धभत्ता पाँच हजार पुर्याइने अभिव्यक्ति दिएका थिए । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वृद्धभत्ता यसैपालि बढाइने अभिव्यक्ति नदिएका होइनन् । यद्यपि, कति बढ्छ भन्नेबारे प्रधानमन्त्रीले खुलाएका छैनन् । जुन विषयमा सरोकार राख्ने विभागीय मन्त्री (अर्थमन्त्री) युवराज खतिवडा भने यो विषयमा मौन छन् । 



शुक्रबार सरकारले आफ्नो नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्दै छ । सरकारले आधिकारिक रूपमा नीति तथा कार्यक्रम सार्वजनिक नगर्दै मन्त्री तथा नेताहरूले जथाभावी बोल्नु कानुनसम्मत हुँदैन । तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले सार्वजनिक गरेको चुनावी घोषण पत्रमा वृद्धभत्ता पाँच हजार पुर्याउने प्रतिबद्धता जनाइएको थियो । तर, सो चुनाव जितेर दुईतिहाइ बहुमतसहित केपी ओली प्रधानमन्त्री भएकोको एक वषभन्र्दा बढी बितिसक्दा पनि वृद्धभत्ता बढेको छैन । 

सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीको बोलीमा त झुटका शृंखला त अनगिन्ती भेटिन्छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामै प्रस्तुत गरेको एउटा तथ्यांक पूर्णतः झुटोे साबित भयो । आफ्नै पार्टीभित्रबाट जनताले अनुभूति गर्न सक्ने कुनै काम नगरेको भनेर आलोचना भएपछि प्रधानमन्त्री ओलीले सरकारको १० महिना तथा चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको प्रगति विवरण भन्दै एक तथ्याङक संसदमा पेस गरेका थिए । तर, प्रधानमन्त्रीले प्रस्तुत गरेका कतिपय तथ्यांक तोडमोड गरिएका थिए भने अधिकांश तथ्यांक गलत थिए । 



सरकारी अभिलेखमै नभएको तथ्यांक प्रस्तुत गरेको तथा तथ्यांक तोडमोड गरेको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना भयो । प्रधानमन्त्री ओलीले भने आफूले प्रस्तुत गरेका तथ्यांक नै सही भएको जिकिर गरिरहे । आफ्नो सरकारले व्यापक प्रगति गरिरहेको पुष्टि गर्न उनले आर्थिक सूचकांकहरूमा सुधार भएको देखाउन खोजेका थिए । तर ती तथ्यांक अधिकांश नक्कली र बढाई–चढाई गरिएको तथ्य पुष्टि भएको भयो । 

नेपालका नेता, मन्त्री, प्रधानमन्त्री क्षणिक उत्साहका लागि सार्वजनिक कार्यक्रममा तथ्यहीन अभिव्यक्ति दिएर  चर्चामा आउन खोज्छन् भन्ने अर्का प्रमाण हुन्,  पूर्वप्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनको पनि बोलीको भर हुँदैन । उनी बिहान एउटा कुरा गर्छन्, बेलुका अर्को । एउटै घटना र विषयमा पनि उनको अभिव्यक्ति फरक–फरक हुने गर्छ । जिम्मेवार पदमा रहेका नेताका यस्ता अभिव्यक्तिले जनतामा नेताहरू झुट बोल्छन्, बोलेको पूरा गर्दैनन् भन्ने छाप परेको छ । राजनीति गर्नेहरूप्रति जनताको बुझाइ नै परिवर्तन हुँदै गइरहेको छ । यसलाई चिर्न नेता तथा मन्त्रीहरूले सकेका छैनन् । 

मन्त्री तथा नेताको तथ्यहीन अभिव्यक्तिप्रति टिप्पणी गर्दै राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘पार्टीमा जुन असन्तुष्टि छ, त्यो असन्तुष्टिलाई पुँजीकृत गर्ने र बोलेरै नेता हुन सकिन्छ भन्ने मान्यता त्यसको पछाडिको कारण हो ।’

  • प्रकाशित मिति : वैशाख १९, २०७६ बिहीबार १७:४२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया