निरन्तर शनिबारमा हेम प्रभास र जय गौडेल

काठमाडौं– निरन्तर शनिबारको यस पटकको शृंखलामा कवि हेमप्रभास र गजलकार जय गौडेल अतिथिका रूपमा निम्त्याइएकाा थिए । कार्यक्रममा कविता सम्बन्धी आफ्नो राख्ने क्रममा कवि हेमप्रभासले कविताका विषयमा आजसम्म कति धेरै विद्वान्हरुले बोले–लेखे पनि कविताका कुरा नसिद्धिएका र यही नै कविता हो भन्न नसकिएको प्रसंग उप्काए । 

कलाका विभिन्न विधामध्ये कविता श्रेष्ठ भएको र प्रकृतिले दिने आनन्द यसले दिने जिकिर उनले गरे ।  कविता हृदयको स्पन्दन हो भन्दै उनले मानिसको जीवन कविताबाट विमुख हुन नसक्ने बताए । कार्यक्रममा कवि हेमप्रभासले पत्रको सारांश, मेरा बा किसान हुन्, तिम्रो भाग्यको नीलो पहाड, कवि किष्नेको सपना, नयाँ शताब्दीको बुढो बालक र अधुरो सिलसिला गरी ६ वटा कविता सुनाएकाा थिए ।

यसैगरी, अर्का अतिथि गजलकार जय गौडेलले गजलसम्बन्धी आफनो धारणा राखे । त्यस क्रममा गजलकार गौडेलले गजल गेयात्मक विधा भएकाले यसमा लयको पालना अनिवार्य भएको जिकिर गरे । शास्त्रीय लयका अलवा लोकलयलाई  पनि छान्न सकिने र विभिन्न नेपाली लोकलयमा राम्रा–राम्रा गजल लेख्न सकिने उनले बताए । 

गजल लेख्दा तुकबन्दी र उक्ति वैचित्र्यलाई ध्यान दिनुपर्ने भन्दै उनले एउटा राम्रो गजल लेख्न निकै मिहिनेत र लामो समय पनि लाग्न सक्ने कुरा अनुभवसहित सुनाए । कार्यक्रममा गौडेलले सबैभन्दा मलाई..., खडेरी छ बाहिर..., छातीभरि देश दुख्छ..., चरी भन्नु मलाई...गरी चारवटा गजल र मधुसूदन हौ शीर्षकको एउटा छन्द कविता पनि सुनाए ।

यसपटकको शृंलामा इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, सुदर्शन शर्मा, सरोज राई, प्रकाश बम परिश्रमी, तपेन्द्र घोडासैनी, एपी सुमन, रञ्जिता गिरी, रमेश बलामी, पदम दाहाल, प्रीतिका खत्री, शिक्षा नेपाल, नवीन गिरी, रीता पुन, स्वागत नेपाल, सोझो गाउँलेलगायतले आफ्फ्ना रचना (कविता, गीत, गजल, मुक्तक) सुनाएका थिए । 

वाल्मीकि विद्यापीठमा सम्पन्न उक्त कार्यक्रम ‘लेटेस्ट नेपाल’ युट्यब च्यानलमा पनि हेर्न सकिनेछ । सो कार्यक्रम रेडियो अन्नपूर्ण ९४ मेगाहर्जबाट आगामी शनिबार बिहान सात बजे प्रसारण हुनेछ कवि सोझो गाउँलेले जानकारी गराए ।





  • प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार १४:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया