Sun, 25 Aug, 2019


१८ वर्षअघिकाे दरबार हत्याकान्ड र राजारानीसँगका मेरा सम्झना
काेमल वली
फरकधार / जेठ १९, २०७६

२०३८ सालको कुरा हो । म त्यति बेला ४ कक्षामा पढ्थेँ । पढाईमा ठिकै थिएँ । पढाई सँगसँगै म अतिरिक्त क्रियाकलापमा पनि सहभागि भइरहेकी हुन्थेँ ।



दौडमा म निकै राम्रो थिएँ । र, गीत गाउनमा पनि । म त्यति बेला नै मादल आफैं बजाउने भइसकेकी थिएँ । मादल बजाएर पश्चिमेली भाकामा गीत गाउन निकै खुसी लाग्थ्यो ।

त्यति बेला राजा वीरेन्द्र बारम्बार भ्रमणमा निस्कनुहुन्थ्यो । उहाँ हाम्रो दाङमा पनि आउनुभयो । २०३८ सालमा उहाँ दाङ पनि आउनु भयो ।

मेरो सौभाग्य, मैले उहाँ आएको दिन आफ्नो कला प्रस्तुत गर्ने मौका पाएँ । राजारानीको सवारी हुँदा ठाउँठाउँमा स्थानीय कलाकारहरुले प्रस्तुति दिने चलन थियो । मेरो स्कुलबाट म छानिएँ ।

राजारानी ठूलो मन्चमा अगाडि बस्नुभएको थियो । कलाकारहरुलाई आआफ्नो प्रस्तुति देखाउन थाले । मेरो पालो आयो । घिन्ताङ घिन्ताङ मादल ठोक्दै मैले गीत गाएँ– 

ए, म त रोल्पाली हुँ नी, 

रोल्पालीको क्या राम्रो जीवनी 

मैले गुन्यूचोलो लगाएकी थिएँ । गीत गाउँदै म अगाडि के बढेकी थिएँ, रानी ऐश्वर्याले मन्चबाट हुकुम भयो– यता आउ । उहाँले हात उचालेको जस्तो मलाई लागेको थियो । तर, मन्चसम्म जानका लागि डोरी लगाइएको थियो । म सानी थिएँ, डोरी फड्किन सकिनँ । नजिकै सुरक्षाका लागि नेपाली सेनाका एकजना दाइ हुनुहुन्थ्यो । उहाँले मलाई टपक्क टिपेर माथि मन्चमा राखिदिनुभयो ।

मलाई पहिले नै थाहा थियो– राजारानीसँग कुरा गर्दा अलिक पछाडि उभिनु पर्छ । म रानी ऐश्वर्या सरकारको पछाडि उभिएँ । उहाँले मतिर टाउको फर्काएर सोध्नुभयो– नानी कति कक्षामा पढ्छौ ? म चार कक्षामा पढ्थेँ, महेन्द्र माध्यमिक विद्यालयमा पढ्छु सरकार भनेँ । अनि उहाँले भन्नुभयो– म पैसा पठाइदिन्छु, राम्रोसँग पढ । मैले स्वीकृतिमा मुन्टो हल्लाएँ ।

उहाँले त्यति बेला नै भनिबक्स्यो– सुर्खेतमा पनि आउ है, त्यहाँ तिम्रो धेरै गीत सुन्छु । उहाँको छेवैमा उहाँका एडिसी हुनुहुन्थ्यो । उहाँले टाउको हल्लाउनुभयो । म त्यहाँबाट नमस्कार गरेर फर्किएँ । त्यसको केही दिनमा मलाई सबैले बधाई दिनुभयो । अन्चलाधीश नारायण बस्न्यात हुनुहुन्थ्यो, उहाँले आफ्नै कार्यालयमा बोलाएर बधाई दिनुभयो । अनि उहाँले नै सुर्खेत जाने बन्दोबस्त पनि मिलाइदिनुभयो ।

सुर्खेतमा वर्षेनीजसो राजारानीको क्याम्प हुन्थ्यो । म पनि सुर्खेत गएँ । तर, राजारानीको सवारी जुम्ला भएको रहेछ । उहाँहरु आउनुभयो, तर मैले कार्यक्रममा गीत गाउन पाइनँ । खासमा त्यहाँ जुम्ला, हुम्लालगायतका अन्य जिल्लाबाट पनि कलाकार आउनु भएको थियो । सबैले प्रस्तुति दिने । मैले पालो पाइनँ । त्यसको केही दिनमा राजारानीको हुम्ला सवारी भयो । मलाई बिसन्चो भयो, ज्वरो आयो । अनि म प्रस्तुति दिन नपाई फर्किएँ ।

दाङ आएको केही दिनमा मलाई फेरि अन्चलाधीशले बोलाउनुभयो । मलाई लिएर हाम्रो स्कुलको प्रधानाध्यापक सर जानुभएको थियो । त्यहाँ दरबारबाट मेरो नाममा स्कलरसिप आएको रहेछ । अन्चलाधीशले सोध्नुभयो– नानी सानी छिन्, सधैं पैसा लिन आउन सजिलो हुँदो रहेनछ, स्कुलमा पठाइदिउँ वा उनलाई बैंकमा खाता खोल्न भनिदिनु । मैले यही कुरा घरमा भनेँ । बुवा र आमाको नागरिकता लिएर हामी राष्ट्रिय वाणिज्य बैंक गयौँ, खाता खोल्यौँ । त्यसपछि मेरो खातामा प्रत्येक महिना १ सय ५० रुपैयाँ आउन थाल्यो । त्यौ नै दरबारले मलाई दिएको स्कलरसिप थियो ।

त्यतिबेला स्कुलमा महिनाको २२ रुपैयाँ फि बुझाउनु पर्थ्यो । मलाइ महिनाभर खर्च गर्न अरु पैसाले पुग्नेमात्र होइन, केही पैसा बच्थ्यो पनि । त्यसको दुई वर्षपछि दरबारबाट खबर आयो– स्कलरसिप पाएका विद्यार्थीलाई राजाले यस वर्ष दशैंमा टिका बक्सिँदैछ । यो खबर सुनेपछि म खुसी भएँ । अनि मैले टिका ग्रहण गर्न जाँदा के बोल्ने होला भन्ने प्राक्टिस गर्न थालेँ । हामी दाङबाट आयौँ । म दरबारमा गएँ । अरु १०/१२ जना थिए । मैले टिका ग्रहण गरेँ । उहाँहरुले दक्षिणा पनि दिनु भएको थियो । त्यो खाममा ५५ रुपैयाँ थियो ।

त्यसको तीन वर्षपछि म नौ कक्षा पढ्दै गर्दा फेरि दरबारबाट हामीलाई निम्तो आयो । राजाको जन्मोत्सवका लागि त्यो निम्तो आएको थियो । म, बुवा र आमा भएर दाङबाट काठमाडौं आयौँ । २०४३ सालको वीरेन्द्र राजाको त्यो जन्मोत्सवको रात्रीभोजमा सहभागि हुन आउँदा हामी खिचापोखरीमा बसेका थियौँ । १४ पुषको साँझमा हामी दरबार गयौँ । त्यति बेला मैले साडी लगाएकी थिएँ । खासमा दरबारमा जाँदा सधैं साडी लगाउनु पथ्र्यो । दरबारमा बुवा र आमालाई भित्र जान दिइएन । ममात्र गएँ । यसपटक पनि पहिलेजस्तै मैले खुबै प्राक्टिस गरेर गएकी थिएँ ।

रात्रीभोज चलिरहेको थियो । राजा घुम्दै म भएको ठाउँ नजिकै आउनुभयो । मैले एकस्वरमा भनेँ– मौसुफ सरकार, म हजुरहरुको स्कलरसिप पाएकी कोमल वली । मैले साफ गेम खेलेँ, मैले राष्ट्रिय गेम खेलेँ, गीत गाएँ, फस्र्ट भएँ, यसो गरेँ, उसो गरेँ । मैले एकैस्वरमा यी सब कुरा सुनाउँदा वीरेन्द्र राजाले मलाई हेरिरहनुभएको थियो । जब म रोकिएँ, उहाँ मुसुक्क हास्नुभयो । खुसी हुनुभयो, राजा खुसी हुनुभएको यो कुराले म पनि औधी खुसी भएँ । एसएलसीसम्मका लागि मैले दरबारबाट पाएको छात्रवृत्तिमा पढेँ । एसएलसीपछि त्यो बन्द भयो । त्यसको केही वर्षपछि म काठमाडौं आएँ । त्योबीचमा मैले विभिन्न खेलहरु खेलिसकेकी थिएँ, विदेश गइसकेकी थिएँ ।

रेडियो नेपालमा गीत प्रतियोगितामा सहभागि भइसकेकी थिएँ, रेडियो नेपालमा जागीर पनि खान थालिसकेकी थिएँ । २०५१ सालतिरबाट त मैले राजा सवारी हुने कार्यक्रमहरुमा उद्‌घोषण गर्न थालिसकेकी थिएँ । त्यही वर्ष मेरो गीत उहाँलाई मन पर्छ रे भन्ने थाहा पाएँ । दरबारकै कसैले मलाई भनेको थियो । २०५० सालमा म उहाँको जन्मदिनमा सहभागि हुन जाँदा मैले मेरो एल्बम लिएर गएँ । एल्बम टक्र्याएँ । वीरेन्द्र राजाको गद्दी आरोहणको रजत जयन्ती मनाउँदा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूलो कार्यक्रम भएको थियो । त्यो कार्यक्रममा रबिन शर्मा दाइ र मैले एमसी गरेका थियौँ ।

रबीन दाइले अङ्ग्रेजीमा गर्नुभएको थियो, मैले नेपालीमा । कार्यक्रम सकियो । औपचारिक कार्यक्रम सकिएपछि अनौपचारिक भोजको कार्यक्रम थियो । त्यति बेला हामी एउटा कुनामा थियौँ । वीरेन्द्र राजा घुम्दै म भएको ठाउँनिर आउनुभयो । 

मैले फेरि पनि नमस्कार गर्दै भनेँ– मौसुफ, हजुरहरुको छात्रवृत्ति पाएर पढेकी कोमल वली हुँ म । उहाँले भन्नुभयो, ‘वली, तिमीलाई थ्याङ्क यु है ।’ मैले भनेँ, ‘सरकार जो हुकुम भयो ।’ 

२०५४ सालको कुरा हो । म आफ्नो स्कुटीमा कान्तिपथको बाटो कतै जाँदै थिएँ । ट्राफिकमा मेरो स्कुटी रोकियो । अहिलेको निर्वाचन आयोगअगाडिको कुरा हो । मेरो छेवैमा एउटा गाडी आएर रोकियो । त्यो गाडीको पछाडि एउटा कुकुर थियो, मैले त्यतै ध्यान दिएँ । माथि छत नभएको त्यो गाडी कसले चलाएको छ भन्नेमा पहिले ख्याल दिइनँ, कुकुरसँगै एकजना व्यक्ति पनि देखेपछि बल्ल मैले अगाडि देखेँ । कता कता चिनेको मान्छेले गाडी चलाएको जस्तो आभास भयो । म झसङ्ग त्यति बेला भएँ जब मलाई थाहा भयो, त्यो गाडी चलाउने व्यक्ति अरु कोही नभएर वीरेन्द्र राजा भएको मैले चाल पाएँ । हत्तपत्त मैले नमस्कार गरेँ । अनि भनेँ– सरकार, म कोमल वली । सरकारबाट छात्रवृत्ति पाएर पढेँ सरकार । उहाँ हास्नुभयो ।

त्योबीचमा मेरा गीतहरु निकै चले । केही समयमा मैले राजाबाट गोरखा दक्षिण बाहु पनि पाएँ । त्यो कार्यक्रममा पनि मैले उभिएरै आफ्ना कामहरुबारे बताएँ । जहाँजहाँ र जहिलेजहिले मेरो उहाँसँग भेट हुन्थ्यो, मैले आफ्ना कुरा सुनाइहाल्थेँ, सबै कुरा भनिहाल्थेँ । अनि सुरुवात चाहिँ त्यही शब्दबाट गर्थेँ– सरकारबाट स्कलरसिप पाएकी कोमल वली म । एकपटक त्यस्तै भेटमा राजाले मलाई भन्नुभएको थियो– मैले तिम्रो गीतबारे थाहा पाएको छु वली, मैले सुनेको छु ।

छात्रवृत्ति पाउन थालेपछि म बारम्बार दरबारबारे बुझ्न खोज्थेँ । २०४५/४६ सालतिर दरबारे बुझ्न म मरिचमान सिंहलाई सोध्थेँ । पछिसम्म पनि म उहाँलाई दरबारे बुझिरहेकी हुन्थेँ । उहाँले राजा वीरेन्द्र निकै सिम्पल भएको बताउनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो– राजा सिम्पल हुनुहुन्छ, गुन्द्रुकसँग खाना खान रुचाउनुहुन्छ । त्यति मात्र होइन, राजा नयाँ कपडामा पनि त्यति ध्यान दिनुहुन्नथ्यो रे ! पुरानै कपडा सिलाएर लगाउँदा पनि हुन्थ्यो रे ! मैले यो सब सुन्दा सोच्थेँ– मैले मात्र होइन, देशले नै सही अभिभावक पाएको छ ।

दरबारसँगको मेरो निकटता वीरेन्द्र राजा वा ऐश्वर्या रानीसँगको मात्र होइन, तत्कालीन राजकुमार दीपेन्द्रले पनि मलाई चिन्नुहुन्थ्यो । एकपटक हामी एउटा स्कुलको कार्यक्रममा भेट भएका थियौँ । त्यहाँ उहाँले नै मलाई सोध्नुभएको थियो, ‘के छ कोमल खबर ?’ राजकुमार दीपेन्द्र गीत सङ्गीतमा निकै रुची राख्नुहुन्थ्यो । उहाँ आफैं पनि मादल बजाउनुहुन्थ्यो । दोहोरी गाउन र नाच्न पनि उहाँ निकै खप्पिस हुनुहुन्थ्यो । तर, मैले राजपरिवारका सदस्यअगाडि मेरो गायन कहिल्यै देखाउन पाइनँ । 

मैले उहाँहरु अगाडि गाएको भने त्यही एकपटकमात्र हो– दाङमा, म चार कक्षामा पढ्दा । मलाई के छ कोमल भनेर राजकुमार दीपेन्द्रले सोध्दा मैले भनेकी थिएँ, ‘म सरकारको प्रतिभाबाट निकै प्रभावित छु सरकार ।’ स्पोर्टस् काउन्सिलका कार्यक्रममा मैले एमसी गर्न थालेपछि निकै पटक दीपेन्द्रसँग मेरो भेट भएको थियो । त्यसैले म उहाँसँग पनि खुलेर नै कुरा गर्थेँ । स्पोर्ट्स काउन्सिलमा हुने कार्यक्रममा युवराज दीपेन्द्रले पहिले नै सोध्नुहुन्थ्यो रे– कार्यक्रम कसले चलाउने हो ? कोमल वलीले कार्यक्रम चलाउने भन्ने जानकारी पाएपछि उहाँ भन्नुहुन्थ्यो रे– ल, ठीकै छ, त्यसो भने राम्रो हुन्छ ।

कोटेश्वरको एउटा स्कुलको कार्यक्रममा युवराज अथिति हुनुहुँदो रहेछ । तर, उहाँ त्यहाँ ढिला पुग्नुभएछ । त्यहाँका बालबालिकाहरुलाई स्कुलले उहाँको स्वागत गर्न २÷३ घन्टा उभ्याएछ । यो कुरा मैले पनि थाहा पाएको थिएँ । त्यसको केही दिनमा मेरो युवराजसँग काभ्रेमा भेट भयो । त्यहाँ एउटा खानेपानी परियोजनाको उद्घाटन थियो । म त्यो कार्यक्रममा एमएसी गर्न गएकी थिएँ । कार्यक्रम सकियो ।

त्यसपछि कार्यक्रमस्थलबाट बाहिर निस्कने समयमा युवराज दीपेन्द्रले भन्नुभयो– राम्रो भयो कार्यक्रम । त्यही अवसर पारेर मैले उहाँसँग गुनासो गरिहालेँ– मौसुफ अस्ती कोटेश्वरमा अबेर सवारी होइबक्सिएछ, त्यहाँका मानिसले गुनासो गरेका छन्, झन् गाडी पनि बालबालिका उभिएको ठाउँमा निकै स्पिडमा गुडेको थियो रे ! सामन्य कुरापछि मैले सरकारलाई बिन्ती गर्नु पर्ने भन्दै यो कुरा भनेको थिएँ । उहाँले मेरो कुरा सुनिसकेपछि एडिसीलाई यो कुरा नोट गर्न लगाउनु भयो । म त्यति बेला आफ्नो पेसामा थिएँ, निर्धक्क थिएँ ।

म गायनमा अगाडि बढिरहेकी थिएँ । बेलाबेला हुने भेटमा वीरेन्द्र राजाले मेरो गायनको पनि प्रशंसा गरिरहनु हुन्थ्यो । विदेशमा कार्यक्रम गर्न गइरहन्थेँ । २०५८ सालको जेठ पहिलो साता हामी कार्यक्रम गर्न जापान पुगेका थियौँ ।

१९ गते राती मलाई जापानमा नै फोन आयो । मैले उठाएँ । ‘दरबारमा यस्तो भएछ,’ फोनमा मलाई भनिएको थियो । म विगतमा पुगेँ । मेरा आँखा रसाउन थालिसकेका थिए ।

मलाई महसुस भयो– म खाली भएँ । दरबारले नै मलाई छात्रवृत्ति दिएकाले मैले अभावको महसुस गर्न परेको थिएन । मैले पढ्न पाएकी थिएँ, ममा कन्फिडेन्स बढेको थियो । घरमा सहयोग गर्न पाएकी थिएँ, साथीभाइसँग चिया खान खर्चको अभाव भएको थिएन । ती ६ वर्ष मेरो जीवनलाई एउटा गोरेटो देखाउन र ‘सेप’ दिन त्यही छात्रवृत्तिको मुख्य भूमिका थियो ।

त्यो छात्रवृत्ति नपाएको भए म यो ठाउँमा आज हुने थिइनँ, सायद अध्ययन गर्ने पनि थिइनँ कि ? कस्तो हुन्थ्यो होला अहिलेको मेरो जीवन ? म यी कुराहरु सोच्न थालेँ । त्यो छात्रवृत्तिले गाउँमा मलाई हेर्ने दृष्टिकोण बदलिदिएको थियो, मैले समाजलाई हेर्ने दृष्टिकोण बदलिएको थियो । यी सारा कुरा सम्झिएपछि मेरो मन अमिलो भयो । एक महिनाका लागि जापानको कार्यक्रममा गएकी म तत्काल फर्किने निर्णय गरेँ । फर्किएँ । मन कताकता भरिएर आयो । म घ्वाँघ्वाँ रुन थालेँ ।

भोलिपल्ट विहान मैले कपाल खौरिएँ, किनकि मैले मेरो एउटा परिवार गुमाएकी थिएँ । देशले राजा गुमाएको थियो, सच्चा अभिभावक गुमाएको थियो । त्यो १९ जेठको रात म टुहुरी भएँ । म टुहुरो भएको आज १८ वर्ष पुगेको छ भन्दा पनि मेरो मन भक्कानिरहन्छ । 

(नाेट: १८ वर्षअघि २०५८ सालमा जेठ १९ गते भएकाे राजदरबार हत्यकान्ड अहिलेसम्म पनि रहस्यमा नै छ  । अहिले नेकपाकी राष्ट्रियसभा सदस्य तथा गायिका काेमल वलीकाे राज दरबारसँगकाे निकटताबारे हामीले गत वर्ष सिरिज गरेका थियाैँ । १९ जेठकाे सन्दर्भमा हामीले त्यही सिरिज पुनप्रकाशन गरेका छाैँ । सिरिजकाे पहिलाे भाग । सिरिजका अन्य भाग पनि क्रमश: प्रकाशन गर्ने छाैँ– सम्पादक । )


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्