Sun, 25 Aug, 2019


गुटकाे जन्जालमा नेकपा, एक नेता एक गुट !
फरकधार / जेठ २०, २०७६

काठमाडौं– पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकताको घोषणा भएको एक वर्ष पूरा भयो । यसबीचमा पार्टीभित्र चरम गुटबन्दी मौलाएको छ । पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेशस्तरीय विशेष कमिटीको गठन, जिल्ला र मातहत कमिटी एकीकरण, जनवर्गीय संगठन एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरूको एकीकरण र केन्द्रीय विभाग गठन सबैमा गुटतन्त्र हावी भयो । शीर्ष नेताहरूले सर्वसम्मतिका आधारमा एकता घोषणा भएको दाबी गरे पनि पार्टीभित्रै एकताप्रति असन्तुष्टि कायमै छ । 



पार्टी एकता प्रक्रिया टुंग्याउन गठित कार्यदलमा नै गुटअनुसार कार्यदल सदस्य छानिएका थिए । नौ सदस्यीय  कार्यदलमा केपी ओली पक्षबाट विष्णु पौडेल, शंकर पोखरेल र रघुवीर महासेठलाई राखिएका थिए भने प्रचण्ड र माधव नेपाल निकटबाट सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, योगेश भट्टराई, वर्षमान पुन र लेखराज भट्टलाई राखिएको थियो ।    

केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल,  झलनाथ खनाल, ईश्वर पोखरेल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल सबैका आ–आफ्नै गुट छन् । पार्टी एकता नहुँदै दुवै पार्टीमा गुटगत राजनीतिले जरा गाडेको त थियो । एकतापछि त्यसको अन्त्य हुने नेकपाका नेताहरूले बताउँदै आएका थिए । तर, एकतापछि पहिलो तहका मात्र होइन, दोस्रो तहका नेता पनि गुटबन्दी गर्न थालेका छन् ।

पार्टी एकीकरणको समयमा नै टुंगोमा नपुग्नुको मुख्य कारण नै गुटतन्त्र भएको सो पार्टीका नेता स्वयं बताउँदै आएका छन् । नेकपा यतिवेला सिंगो पार्टी नभई गुटै–गुटको झुन्डजस्तो भएको छ । कम्युनिस्ट पार्टीमा गुटबन्दीलाई सामान्य ठानिए पनि नेकपामा देखिएको गुटगत राजनीतिले पार्टीलाई नै विभाजनतिर त पुर्याउँदै छैन ? भन्ने प्रश्न उठ्न थालेको छ । 

नेकपामा शीर्ष नेताहरू कोही पनि एक–अर्काको नजिक छैनन् । उनीहरू आ–आफ्नै गुट हाँक्नमा व्यस्त छन् । उनीहरू आफ्नो गुटमा पार्टीका शक्तिशाली नेता तानातान गर्न लालायित छन् ।  

त्यसो त नेकपा विधानमै गुटबन्दीलाई निषेध गर्ने उल्लेख छ । विधानको धारा ५७ मा ‘पार्टीभित्र गुटबन्दी र षड्यन्त्र गरेमा अनुशासनको कारबाही गरिने’ व्यवस्था छ । तर, वरिष्ठ नेताहरू नै गुटलाई प्रश्रय दिन लागेकाले उनीहरूमाथि कसले अनुशासनको कारबाही गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ ।  

‘पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको प्रमाणित भएमा कुनै पनि कमिटी वा निकाय र तिनका पदाधिकारी तथा सदस्यमाथि अनुशासनको कारबाही हुनेछ । पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा, पार्टी निर्णय उल्लंघन गरेमा, पार्टीभित्र निष्ठा र विश्वास नरहेमा, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेमा, पार्टी कमिटीको गोपनीयता भंग गरेमा अनुशासनको कारबाही हुनेछ,’ नेकपाको विधानमा भनिएको छ । 

शीर्षस्थ नेता नै गुटलाई निराकरण गर्नभन्दा उल्टै बढवा दिने काममा समेत तल्लीन रहेकोको आरोप नेकपाका कार्यकर्ताले लगाउँदै आएका छन् । गुट–उपगुटकै कारण शीर्ष नेताहरूले आफूनिकटलाई च्याप्ने र इतरकालाई पाखा लगाउने योजनाका कारण भागबन्डामा समेत कुरा मिल्न सकेको छैन । चरम गुटबन्दीका कारण पार्टीको भविष्य के हुने हो भन्ने चिन्ता कार्यकर्तामा बढ्दै गएको छ । 

‘हिजो पूर्वएमाले र माओवादी केन्द्र हुँदा पनि त्यस्तो प्रकारको समस्या नभएको होइन,’ नेकपा एक नेताले भने, ‘अहिले पनि गुटउपगुटको विकास भएको गन्ध आउन थालिसकेको छ ।’ अहिले नेताहरु गुट बनाउन र आफ्नो स्वार्थसिद्ध गर्नमा नै केन्द्रित हुन थालेका छन् । जसका कारण मुख्य गुट, उपगुट हुँदै सहायक गुटसमेत सिर्जना हुन थालेको छ । 

गुट–उपगुटकै कारण एकता अलमलमा परेको भन्दै अधिकांश कार्यकर्ताले आक्रोशसमेत पोख्न थालेका छन् । शीर्षस्थ नेताबीच भागबन्डा नमिल्दा पोलिटब्युरोमा परेका सदस्यको नामावली सार्वजनिक हुन सकेको छैन । माधव नेपालनिकट नेता भीम रावल एकीकृत पार्टीको सचिवालयमा समेत नपरेपछि नेपाल केहीअघिदेखि नै सशंकित भएका थिए । तर, रावलको गुनासोलाई पार्टीले बेवास्ता गरेको प्रस्टै देखिन्छ । 

नेपाल समूह एकता प्रक्रियाको सुरुदेखि नै असन्तुष्ट देखिँदै आएको छ । उनको असन्तुष्टि ७७ वटा जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाउँदा अझै सतहमा देखियो । पूर्वएमालेको भागमा परेका ४४ जिल्लामध्ये नेतृत्वमा अध्यक्ष ओली र नेता नेपाल समूहको सामान्यतया बराबरीजस्तो देखियो । ७७ मध्ये ४४ जिल्लामा पूर्व एमाले र ३३ जिल्लामा पूर्व माओवादीले अध्यक्ष पाइरहँदा ३३ जिल्लामा पूर्वएमाले र ४४ जिल्लामा पूर्वमाओवादीले सचिवको जिम्मेवारी पाएका छन् ।

पूर्वएमालेबाट अध्यक्ष बनेका ४४ मध्ये ओली समूहबाट २८ र नेपाल समूहबाट १६ जना छन् । सचिवमा ओली समूहका ११ र नेपाल समूहका २२ जना छन् । नेपालसँग भीम रावल, बेदुराम भुसाल, युवराज ज्ञवाली, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराईलगायत छन् । 

पार्टी एकतापछि पार्टीमा गुट–उपगुट झन् बढी हावी भयो भन्ने आरोप छ नि ? फरकधारको प्रश्नमा नेकपा स्थायी कमिटी सदस्य रावलले भने, ‘जब कमिटीहरू हुँदैनन्, त्यहाँ प्रणाली स्थापित हुँदैन, कमिटीगत रूपमा मानिसहरू क्रियाशील हुँदैनन् । त्यति वेला मान्छेका आ–आफ्ना क्रियाकलाप आ–आफ्नै किसिमले सञ्चालित हुन सक्ने खतरा उत्पन्न हुन्छ । यसले बनाउने भनेकै गुट–उपगुट हो ।’ पार्टीका कमिटीहरू क्रियाशील नभएकै कारण गुट बढेको भीम रावलको निष्कर्ष छ । 

एकीकरणपछि तलदेखि माथिसम्मका कमिटीहरू पार्टीले क्रियाशील बनाउन नसकेको उनले बताए । ‘सबैभन्दा पहिले त हामीले पार्टी एकीकरण गरिसकेपछि देशव्यापी रूपमा तलदेखि माथिसम्मका कमिटीहरूलाई क्रियाशील बनाउनुपथ्र्यो, त्यो हुन सकेन,’ रावलले भने । 

संस्थापन पक्ष मानिने अध्यक्ष ओलीसँग सचिवालय सदस्य ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, किरण गुरुङ, रघुवीर महासेठ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाललगायत छन् । पोखरेल र पौडेलमाथि शक्तिको आडमा गुट खडा गर्न खोजेको आरोप लाग्दै आएको छ । 

२०५४ सालमा पार्टीभित्र तीव्र असन्तुष्टि जनाएर छुट्टै पार्टी निर्माण गरेका नेता वामदेव गौतम पनि नेकपामा गुट चलाउने नेता हुन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि असन्तुष्टि व्यक्त गर्दै गौतमले गुटनिर्माणलाई तीव्रता दिइएको बताइन्छ । नेकपाका एक नेताको दाबीअनुसार गौतमको गुटमा उमादेवी कोइराला, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, दलबहादुर राना, पद्मा अर्याल, बलराम बास्कोटा, यामलाल कँडेल, राधाकुमारी ज्ञवाली, सावित्राकुमारी भुसाल, हरिप्रसाद पराजुली, जुलीकुमारी महतो, सुरेन्द्र मानन्धर, मोहन बानियाँ, लक्ष्मणराज ज्ञवालीलगायत छन् । 

पूर्वमहासचिव, पूर्वअध्यक्ष र पूर्वप्रधानमन्त्री समेत बनिसकेका झलनाथ खनाल पनि पार्टीमा गुटको नेतृत्व गर्ने नेता हुन् । पार्टी सञ्चालनमा लामो अनुभव हासिल गरेका खनाललाई भीम आचार्य, पुरुषोत्तम पौडेललगायतले साथ दिँदै आएका छन् । वेलाबखत खनालले पार्टीभित्र बरीयताको सवाल अघि सार्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । 

तत्कालीन एमालेका उपमहासचिव विष्णु पौडेल नेता–कार्यकर्तालाई सरप्राइज दिँदै नेकपाको महासचिव भए । अहिले उनी पार्टीभित्र शक्तिशाली नेता भएर उदाएका छन् । पार्टीमा उनको दोस्रो तहको शक्तिशाली नेताको छवि छ । पौडेलसँगै दोस्रो तहका नेतामा नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, पनि छन् । पौडेलको आफ्नो छुटै उपगुट अस्तित्वमा छैन । उनी अध्यक्ष एवं प्रधानमन्त्री ओलीनिकट नेताका रूपमा सक्रिय छन् ।

मोहन वैद्य हुँदै माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि पार्टीभित्र आफ्नै प्रकारको समीकरण बनाएका छन् । पूर्वमाओवादीबाट नेकपामा तीन गुट छन् । ती हुन्, प्रचण्ड, नारायणकाजी र बादल गुट । बादलले पार्टी र सरकारमा पाएको अनुकूलताको फाइदा उठाउँदै भित्रभित्रै आफूनिकट नेताहरूसँग ‘गोप्य’ छलफल समेत चलाउँदै आएको स्रोतको दाबी छ । 

७ जेठमा बादलले आफूनिकट नेताहरूसँग छुट्टै भेट गरेको स्रोतले बताएको छ । गृहमन्त्रीको सचिवालयले राजनीतिक एजेन्डामा कहिलेकाहीँ नेताबीच अन्तर हुनु, फुट्नु, जुट्नु सामान्य प्रक्रिया हो भनेको थियो । यही भनाइले पनि पार्टीमा बादलको गुट भएको पुष्टि गर्छ । मोहन वैद्य नेतृत्वको नेकपाबाट माओवादी केन्द्र हुँदै गृहमन्त्रीसम्म आइपुगेका बादलनिकट नेताहरू जिल्ला पदाधिकारीमा उल्लेख्य छन् । थापा गुटमा नेताहरू देवप्रसाद गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, सावित्रीकुमार काफ्ले र सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, सुरेश आलेमगर, अमृता थापामगर, इन्द्र आङबो, नरेश भण्डारी, महेश्वर दाहाल, लेखनाथ न्यौपाने, मायाप्रसाद शर्मा, यशोदा सुवेदीलगायत नेता छन् ।

एकता केन्द्र हुँदै २०६३ सालमा प्रचण्ड नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीमा विलय भएका नारायणकाजी श्रेष्ठ पूर्वएमाले र माओवादी केन्द्रको पार्टी एकीकरण पछि अहिले प्रवक्ताको भूमिकामा छन् । माओवादीमा श्रेष्ठ उपाध्यक्ष थिए । तत्कालीन एकता केन्द्रमा रहेका कतिपय नेताले नारायकाजीलाई छाडे पनि केही नेताले भने अहिलेसम्म साथ दिँदै आएका छन् । जिल्ला नेतृत्वको भूमिकामा श्रेष्ठनिकट नेता राजु खड्का हुन् । उनी महोत्तरीको जिल्ला अध्यक्षका रूपमा छन् । त्यसैगरी, उनको गुटमा गिरिराजमणि पोखरेल, विश्वनाथ साह, अन्जना बिसंखे, राजु खड्का, जीवन गौतमलगायत छन् । 

ईश्वर पोखरेलनिकट नेता राजेन्द्र गौतमले अध्यक्ष केपी शर्मा ओलीको विरासत पोखरेल नै भएको बताए । केन्द्रीय सदस्यसमेत रहेका गौतमले पोखरेलका पछिल्ला अभिव्यक्ति र भूमिकालाई मूलधारको राजनीतिमा स्थापित हुने सन्देशका रूपमा बुझ्नुपर्ने बताए । 

अध्यक्ष ओलीको रक्षाकवचका रूपमा अभिव्यक्ति दिँदै आएका पोखरेल उनको विश्वास जितेर पार्टी एकतापछि पूर्वएमालेभित्रै छुट्टै समूह बनाउने कसरतमा देखिन्छन् । उनी पूर्वमाओवादीविरोधी समूह बनाउने प्रयासमा लागेको नेकपा पंक्तिमा विश्लेषण हुन थालेको छ ।  

‘अहिले उहाँ अध्यक्षको प्रतिरक्षामा होइन, पूर्वएमालेभित्र माले समूह रहेजस्तै पूर्वमाओवादीविरोधी समूह बनाउने प्रयासमा हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘पार्टी एकतापछि पनि पूर्वएमालेमा पूर्वमाक्र्सवादी, वामदेवको माले, माओवादीमा नारायणकाजीको पूर्वएकता केन्द्र र बादल समूहजस्ता छुट्टै समूह बनाउने र त्यसबाटै नेतृत्वमा स्थापित हुने प्रयास छ ।’

पूर्वएमाले समूहमा पोखरेलनिकट करिब एक दर्जन केन्द्रीय सदस्य नेकपाको केन्द्रीय कमिटीमा रहे पनि अहिलेसम्म छुट्टै समूह अस्तित्वमा छैन । पोखरेल गुटका भनेर सूर्य थापा, राजेन्द्र गौतमलगायतको नाम चर्चामा आउँछ । 

यसबीचमा राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेलले नेकपामा नयाँ ढंगको ध्रुवीकरण बन्न सक्ने औँल्याउँछन् । उनी भन्छन्, ‘अहिले सबैजना पार्टी एकता प्रक्रिया कम्प्लिट हुनुपर्छ भन्नेमै लागेको देखिन्छ, भोलि नयाँ ढंगका ध्रुवीकरण फेरि बन्ला, त्यो बेग्लै हो ।’

वामविश्लेषक नरेन्द्रजंग पिटर नेकपा पार्टी नभई गुटैगुटको संयुक्त मोर्चा भएको टिप्पणी गर्छन् । उनले नेता तथा कार्यकर्ताले राजनीतिक सुरक्षा गर्न गुटकै प्रभाव पर्ने बताए । विश्लेषक पिटरले भने, ‘नेता तथा कार्यकर्ताको सुरक्षा गर्न गुटकै प्रभाव पर्छ । तर, त्यसवेला पार्टी रहँदैन, गुट मात्रै रहन्छ । नेकपा अहिले छैन, गुटैगटको संयुक्त मोर्चा छ ।’

गुटमा एकले अर्कालाई तल झारेर सत्ता हत्याउने सोच नेताहरूमा हुने बताउँदै विश्लेषक पिटरले नेकपाभित्र अहिले त्यो सत्ता हत्याउन ईश्वर पोखरेल लागेको ठोकुवम गरे । उनले भने, ‘गुटमा एकले अर्कालाई तल झारेर कसरी सत्ता हत्याउने भन्ने सोच हुन्छ । अहिले राजनीतिक सत्ता हत्याउनमा ईश्वर पोखरेल लागेका छन् । यसले पार्टी मर्छ र गुट मौलाउँछ ।’ 

पिटरले भने, ‘पार्टी रह्यो भने राष्ट्र बजबुत हुन्छ । गुट रह्यो भने आफू–आफूमा लड्दालड्दै सकिन्छ ।’ 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्