वासिंगटन– अमेरिकी राज्य अलाबामाको संसद्ले बाल यौन दुराचारीलाई यौन चाहना घटाउने ‘केमिकल क्यास्ट्रेसन’ दिने व्यवस्थासहितको विधेयक पारित गरेको छ । गभर्नरले हस्ताक्षर गर्न बाँकी सो विधेयकमा १३ वर्षमुनिका बालिकासँग यौन दुराचार गर्नेलाई जेलमुक्त हुनुभन्दा एक महिनाअघिदेखि टेस्टोस्टेरोन हर्मोनको उत्पादन घटाउने इन्जेक्सन अनिवार्य दिनुपर्ने व्यवस्था छ ।
प्रस्तावित कानुनअनुसार, केमिकल क्यास्ट्रेसन दिने अवधि विशेषज्ञ चिकित्सकले नभई न्यायाधीशले नै निर्धारण गर्नेछन् । सजाय भुक्तान गरेका दोषीलाई न्यायाधीशले नै केमिकल क्यास्ट्रेसनका असरबारे जानकारी दिनेछन् । कसैले यो उपचार बीचैमा छोड्न चाहेमा उपचारको बाँकी अवधिभर फेरि जेलमै बस्नेगरी छोड्न सक्छन् । विनाअनुमति उपचार छाड्नेलाई भने १० वर्षसम्मको जेल र १५ हजार डलरसम्म जरिवाना हुन सक्छ ।
जबसम्म न्यायाधीशले दुराचारीलाई अब उपचार आवश्यक छैन भनेर प्रमाणित गर्दैनन्, तबसम्म जनस्वास्थ्य विभागको प्रत्यक्ष निगरानीमा उपचार चल्छ । अधिकांशले केमिकल क्यास्ट्रेसनको खर्च आफैँ तिर्नुपर्छ ।
विधेयकलाई राज्यका सांसदहरुले भारी मतले पास गरे । तर, स्वास्थ्यसम्बन्धी जानकारहरुले भने यस्तो उपचार संवेदनशील हुने भन्दै यसलाई निकै सावधानीपूर्वक लिनुपर्ने बताएका छन् ।
विशेषज्ञका अनुसार, केमिकल क्यास्ट्रेसनले पुरुषमा टेस्टोस्टेरोन हर्मोनको उत्पादन घटाई यौन चाहनामा ह्रास ल्याउँछ । तर, यसले सन्तान उत्पादन क्षमतामा भने असर गर्दैन ।
अहिलेसम्मको अध्ययन हेर्दा यो उपचारको प्रभावकारिताको पनि ग्यारेन्टी छैन । केही अध्ययनले बालिकासँग ज्यादा आकर्षित हुने यौन दुराचारीमा यो उपचार प्रभावकारी हुने देखाएका छन् भने केहीले यो खासै असरदार नहुने देखाएका छन् । यस्तो उपचारले महिलामा काम गर्छ या गर्दैन, अहिलेसम्म पुष्टि भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।