क्लिन फिड लागु गर्नु राष्ट्रघाती कदमः सुधीर पराजुली

काठमाडौं– प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लागु हुने विदेश च्यानल सोमबारबाट बन्द गरेका छन् । मंगलबार ३ बजेसम्मका लागि यी च्यानल बन्द गरिएका हुन् । 

टेलिभिजनमा विदेशी च्यानलहरु नआएपछि सामाजिक सन्जालमा निकै धेरैले आक्रोश पोखेका छन् । यसलाई कतिले टेलिभिजन प्रदायकको दादागिरीको संज्ञा पनि दिएका छन् । 

सरकारले प्रस्ताव गरेको विधेयकमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्ने व्यवस्था विज्ञापन नियमन गर्ने भनिएको छ । 

शुल्क तिरेर हेरिने सबै विदेशी च्यानल विज्ञापनरहित हुनुपर्ने अन्तर्राष्ट्रिय चलन नै हो । तर, नेपालमा शुल्क तिरेर हेरिने च्यानलहरुमा पनि विज्ञापन आइरहेको हुन्छ । यही कुरालाई नियन्त्रण होस् भनेर सरकारले विधेयक ल्याएकोमा विधेयक राष्ट्रिय सभामा विचाराधिन छ ।

अर्कोतिर, टेलिभिजन प्रदायक संस्थाहरु चाहिँ यसको विरोधमा छन् ।

‘यस्तो गर्ने हो भने यो उद्योग नै धरासयी बन्छ,’ सुबिसु केबलका अध्यक्ष तथा नेपाल केबल टेलिभिजनका अध्यक्ष सुधीर पराजुली भन्छन्, ‘हामीले अहिले च्यानल बन्द गरेको पनि होइन, क्लिन फिड आयो भने यस्तो अवस्था हुन्छ है भनेर २४ घन्टामा देखाउन खोजेका हौँ ।’



उनले सरकारले अर्को महिनादेखि नै क्लिन फिड लागु हुने भए यस्तै अवस्था आउने हो भन्नका लागि ग्राहकलाई सूचना दिएको दाबी गरे । ‘भोलि क्लिन फिड लागु गरे यो अवस्था हुन्छ, अहिले बन्द हुँदा जे च्यानल आएका छन् ती च्यानल मात्र आउँछन्,’ उनले भने, ‘यो हामीले ग्राहक र सरकार दुवैलाई डेमोन्स्ट्रेसन गरेका हौँ ।’

तर, अन्य देशमा त यस्तो नियम लागु भएको छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘संसारको कुनै पनि देशमा क्लिन फिड लागु भएको छैन, रिसर्च नगरी मिडियाले बाहिर लेखिरहेका छन् ।’



पराजुलीले यस्तै अवस्था हुने हो भने अहिले चलिरहेका नेपाली टेलिभिजन च्यानल पनि बन्द हुने समय आउने बताए । 

सुधीर पराजुली‘अब क्लिन फिड लागु गर्ने हो भने हामीले विदेशी च्यानल पाउँदैनौँ,’ उनले अथ्र्याए, ‘विदेशी च्यानल नपाएपछि ग्राहकहरुले पैसा तिर्नुहुँदैन । पैसा नतिर्ने भएपछि हामी बन्द हुन्छौँ । हामी नै बन्द भएपछि नेपाली च्यानल कसरी दर्शकसम्म पुग्छन् ?’

त्यति मात्र होइन, विदेशी डिटिएच आउने र त्यसले अझ यो क्षेत्रलाई नराम्रो बनाउने उनले बताएका छन् । उनले नेपाल आउने कुनै पनि च्यानल क्लिन फिडका लागि तयार नभएको पनि बताए । 

‘यो खासमा कुनै तयारी नगरि ल्याइएको विधेयक हो,’ उनले भने, ‘हामीले यो कुरा पहिले नै लामो तयारी गरिरहेका हौँ ।’

यतिमात्र होइन, क्लिनफिड लगाउनु राष्ट्रघाती कदम भएको पनि बताए । उनले भने, ‘क्लिन फिड लागु गर्ने भए ग्राहकले अहिले आइरहेका विदेशी च्यानल आउन छाड््छन् । ती विदेशी च्यानल आउन छोड्नु भनेको ग्राहकले पैसा नतिर्नु नै हो । अनि हामी बन्द भएपछि नेपाली च्यानल बन्द हुन्छन्, भारतीय डिटिएच सेटअप बक्स पनि भित्रिन सक्छन् । यो राष्ट्रघाती नभए के त ?’

  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १३:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया