सिसडोलवासीसँग वार्तापछि बल्ल उठ्न थाल्यो काठमाडौंको फोहोर

काठमाडौं– दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौं महानगरपालिकाको फोहोर सोमबारदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो । 

विभिन्न माग राखेर सिसडोलवासीले एक साताअघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए । सिसडोलवासीले काठमाडौंको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा महानगरले अधिग्रहण गर्नुपर्ने माग गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार स्थानीयवासीले स्वास्थ्यमा पुगेको प्रतिकूल असरका लागि समाधान खोज्नुपर्नेलगायत माग महानगरसँग गरेका थिए । 

कामपाले सिसडोलवासीका समस्या समाधानका लागि वडा नम्बर ४ का अध्यक्ष विकास डंगोलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उनले बताए । समितिमा महानगरका अरु वडाका अध्यक्ष, वातावरण विभाग प्रमुख र सरोकारवाला स्थानीयवासीसमेत रहेका छन् । ‘समितिलाई १५ दिनभित्रमा प्रतिवेदन प्रस्तुत गर्नेगरी समयसीमा तोकिएको छ’ उनले भने, ‘त्यही प्रतिवेदनका आधारमा समाधान निकालिनेछ ।’

विभिन्न माग राखेर समयसमयमा स्थानीयवासीले फोहोर फाल्न अवरुद्ध गर्दै आएका छन् । महानगरले १३ वर्षपहिले दुई वर्षका लागि भनेर सिसडोलमा फोहोर फाल्न थालेको थियो । १३ वर्ष बितिसक्दा पनि वैकल्पिक ठाउँ नहुँदा महानगरसँगै उपत्यकाका सबै नगरपालिकाले यहीँ फोहोर फाल्ने गरेका छन् । महानगरपालिकाले केही समयपहिलेबाट यहाँको विकल्पका रूपमा बञ्चरेडाँडामा ‘डम्पिङ साइट’ निर्माण गरिरहेको छ । 





  • प्रकाशित मिति : असार १६, २०७६ साेमबार १६:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया