काठमाडौंमा आइकाओको हवाई महानिर्देशक सम्मेलन हुने

काठमाडौं– अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौंमा हुने भएको छ । आगामी भदौ २ देखि ६ गते (१९–२३ अगस्त)मा काठमाडौंमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १ सय ९३ सदस्य राष्ट्र छन् ।

एसिया प्रसान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली संघ, बोइङ, एयरबस, इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयोटा)लगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहभागिता रहने महानिर्देशक पोखरेलले जानकारी दिए । 

आइकाओ स्थापनाको ७५औँ हिरक वर्षका अवसरमा नेपालमा तेस्रोपटक सम्मेलन हुन लागेको हो । यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रोपटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झन्डा सगरमाथामा फहराइएको थियो ।

महानिर्देशक पोखरेलका अनुसार सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ । आगामी अक्टोबर महिनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिनेछ । महासभा हरेक तीन वर्षमा हुन्छ ।

महानिर्देशकको सम्मेलनमा विभिन्न मुलुकले कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बंगलादेशमा आयोजना हुनेछ ।





  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १५:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया