सीमामा पर्खाल ठड्याउन ट्रम्पलाई अदालतको साथ, पेन्टागन काेषबाट २.५ अर्ब डलर खर्च गर्न पाउने

वासिंगटन– अमेरिकी सर्वोच्च अदालतले दक्षिणी (मेक्सिकोसँगको) सीमामा पर्खाल लगाउन राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागन कोषबाट गर्न लागेको खर्चका लागि बाटाे खाेलिदिएकाे छ । 

दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल ठड्याउन राष्ट्रपति ट्रम्पले पेन्टागन कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न लागेपछि क्यालिफोर्नियाकाे एक अदालतले साे कार्यका लागि उक्त मिलिटरी कोष प्रयोग नगर्न आदेश दिएको थियाे । त्यही आदेशलाई अहिले सर्वोच्चले उल्टाइदिएको हाे । यसबारे सर्वोच्चका न्यायाधीशबीच मतविभाजन हुँदा पूर्ववर्ती अदालतकाे आदेशका पक्षमा ४ र विपक्षमा ५ मत पर्यो । 

राष्ट्रपति निर्वाचनकै वेला ट्रम्पले अवैध आप्रवासलाई रोक्न मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने विषयलाई आफ्नो चुनावी नारा बनाएका थिए ।

डेमोक्र्याटहरु भने सीमामा पर्खाल लगाउने विषयसँग सहमत छैनन् । राष्ट्रपति ट्रम्प र संसद्बीच यस विषयमा लामो शक्तिसंघर्ष पनि चल्यो । संसद्ले पर्खाल ठड्याउने बजेट नदिएको झोकमा राष्ट्रपति ट्रम्पले नियमित खर्चको बजेट नै पास नगरिदिँदा हप्तौँसम्म सरकारी कार्यालयहरुमा सटडाउनको स्थितिसमेत आइपर्यो ।

सर्वोच्च अदालतको निर्णयसँगै ट्रम्पले उक्त २.५ अर्ब डलर क्यालिफोर्निया, एरिजोना र न्यु मेक्सिकोमा पर्खाल बनाउने योजनामा खर्च गर्न पाउने भएका छन् । क्यालिफोर्नियाको अदालतले भने उक्त कोष पर्खाल निर्माणमा लगाउन कंग्रेस (अमेरिकी संसद्को तल्लो सदन) ले विशेषाधिकार नदिएको तर्क गरेको थियो ।

सर्वोच्च अदालतको आदेशपछि ट्विट गर्दै राष्ट्रपति ट्रम्पले ‘ठूलो जित’ भएको प्रतिक्रिया दिएका छन् । यसलाई उनले सीमा सुरक्षा र विधिको शासनको जितको रुपमा अर्थ्याएका छन् । 





  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १४:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया