Fri, 20 Sep, 2019


यहाँ देशकाे छ चिन्ता...
फरकधार / भदौ १७, २०७६
सबै तस्वीर: सुरेश गैरेकाे फेसबुकबाट ।

२०६२ सालको अन्त्यतिर । देशको माहोल ठिक थिएन । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएका थिए । त्यसको विरोधमा सात दल एक ठाउँमा भएका थिए । 



त्यसअघि सशस्त्र आन्दोलन गरिरहेको माओवादी पनि शान्तिपूर्ण राजनीतिमा आउने निश्चित भइसकेको थियो । त्यही साल चैत अन्त्यतिर त देशमा आन्दोलन सुरु भयो, दोस्रो जनआन्दोलन ।

यतिबेला संगीतकार सुरेश गैरे पर्वतमा थिए । देशभर आन्दोलन चर्किरहेको समयमा उनलाई एक साँझ फोन आयो । फोन थियो, डा. कृष्णहरि बरालको । 

‘सुरेश, तिम्रो लागि मैले एउटा गजल लेखेको छु,’ बरालले भने, ‘ठ्याक्कै अहिले देशको चित्र आउने गरि ।’

सुरेश सशस्त्र प्रहरीका जागिरे भएको लामो समय भएको थिएन । उनी पहिलो पोस्टिङका रुपमा पर्वत पुगेका थिए । त्यसअघि उनले गरिरहेको संगीतको ‘तार चुँडिएको’ थियो । 

सुरेशले फोनमै गजल सुने–

यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौँ,
साँच्चै नबुझ्ने हौ कि नबुझ्नै जस्तै बन्छ्यौँ ।

‘मलाई त सुन्नेवित्तिकै औधी मन पर्यो,’ केही दिनअघि सुरेशले सम्झिए, ‘मैले कृष्ण सरलाई वचन दिएँ– म काठमाडौं आउनेवित्तिकै यसमा काम गर्छु सर ।’

सुरेश भदौमा काठमाडौं आउँदै थिए । त्योबीचमा पर्वतमा हुँदा उनले कहिले मनमा, कहिले हार्मोनियममा गीतको खाका बनाइरहे, संगीत साधना गर्न लागिरहे ।

खाका बनिसकेकाले सुरेशले यसलाई संगीत भर्न लामो समय लगाएनन्, तत्काल तयार गरे । पछि उनले थाहा पाए, बरालले पनि यो गीत एकै बसाइमा लेखेका रहेछन् । 

देशमा वृहत् शान्ति सम्झौता भइसकेको थियो, सांसद पूनस्र्थापित भइसकेको थियो । देशले एउटा बाटो समातिसकेको थियो । तर, अझै पनि नेपाली समाजमा थिचोमिचो, राजनीतिमा संक्रमण कायम नै थियो । त्यसैले गीत त्यही समयमा नै रेकर्ड गर्ने योजना बनेको थियो । 

तर, गीतमा एउटा हरफ थियो– तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाई....

सुरेश सशस्त्र प्रहरीमा थिए । सुरक्षासँग सम्बन्धित यो हरफले उनलाई समस्यामा पारिदियो । ‘इथिकल हुने होइन कि भन्ने डर भयो,’ सुरेशले सम्झिए, ‘यही कुरा मैले कृष्ण सरसँग पनि सेयर गरेँ ।’

डा. बरालले उनलाई सहजै उत्तर दिए– गाह्रो हुने भए, अहिले रेकर्ड नगरौँ न त । 

तर, सुरेशको मनले मान्दै मानेन । ‘देश निकै समस्यामा थियो,’ सुरेशले सम्झिए, ‘परिवारलाई भन्दा पनि देशलाई माया गर्नु पर्ने अवस्था थियो, प्रेमी–प्रेमीबीच त अलग कुरा ।’

उनले डा. बराललाई भनेँ– गीत रेकर्ड गरौँ । 

धेरै पछि ज्वाइँ–ससुराको नातामा गाँसिएका सुरेश र बराल त्यसपछि गायक खोज्नतिर लागे । 

‘धेरै जनासँग कुरा गर्यौँ,’ सुरेशले भने, ‘तर, धेरैसँग कुरा मिलेन ।’ 

त्यसपछि कुरा आयो, गायक दीपक लिम्बुको । नेपाली ताराको उपाधि जितेर लिम्बुले नाम बनाइसकेका थिए, बरालका अरु गीत पनि गाइसकेका थिए । 

सुरेश र डा. बराल दुवै दीपकलाई गीत गाउने निर्णयमा पुगे । 

गीत रेकर्ड भयो । बजारमा आयो । 

डा‍. कृष्णहरि बराल र सुरेश गैरे ।त्यसपछि सुरेशले जे सोचेका थिएनन्, त्यो भयो । सुरेशले गीत ‘हिट’ होला भन्ने सोचेका थिएनन्, गीत हिट भयो । 

त्यही हिट गीतले सुरेशलाई पनि ‘चम्काइदियो’ । यही गीतका कारण उनी चर्चाको शिखरमा पुगे । ‘हरेक चिजको आआफ्नै भाग्य हुँदो रहेछ,’ उनले भने, ‘यहाँ देशको छ चिन्ताको भाग्यमा म लेखिएको रहेछु, यसले मलाई स्थापित हुन पनि सहयोग गर्यो ।’

गीत चल्यो, सबै रेडियोले बजाए । तर, दीपक लिम्बुले गाएको कृष्णहरि बरालको यो गीत कुुनै टिभीमा प्रसारण भएन । ‘गीतको भिडियो नै बनेको थिएन,’ सुरेशले सम्झिए, ‘मेरो काठमाडौं सरुवा भइसकेको थियो र हामी गीतको भिडियो बनाउने तर्खरमा लागिसकेका थियौँ ।’

भिडियोको कन्सेप्ट तयार भइसकेको थियो । कलाकारसँग पनि कुरा भइसकेको थियो । तर, भिडियो छायाङ्कन गर्न उनीहरु आउँदै आएनन् ।

‘त्यो त मलाई अर्को मौका पो सावित भयो,’ सुरेशले सम्झिए, ‘त्यसपछि मैले संगठनमा अनुमति लिएँ, आफैं अभिनय गर्ने भएँ ।’

गीतले सुरेशको हिरो बन्ने चाह पनि पूरा गरिदियो । 

भिडियो बनिसकेपछि गीत फेरि एकपटक चर्चामा आयो । अब टिभीहरुले पनि यो गीत बजाउन थाले । 

‘देशलाई माया गर्नेहरुले यो गीत अवश्य मन पराउनु भयो,’ सुरेशले भने, ‘हामी सुरक्षा सेवामा भएकाहरुका लागि त यो गीत जिब्रोमै झुन्डिने भयो ।’

सुरेश आफूलाई लक्की संगीतकार मान्छन् । लक्की यस अर्थमा कि उनी आफूले थोरै काम गरेको तर धेरै सफलता पाएको मान्छन् । 

अनि यही गीतलाई आफ्नो जीवनको टर्निङ पोइन्ट पनि । ‘मलाई अरु तरिकाबाट नचिन्ने मान्छेले पनि यो गजलका कारण चिन्छन्, संगीतकार भनेर,’ सुरेशले भने ।

र, उनलाई लाग्छ– यही एउटा गीतले उनलाई दर्जनौँ गीतले दिनेभन्दा धेरै चर्चा दिएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्