पदबाट विश्राम लिन प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका युवानेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन् । मुलुकको कार्यकारी प्रमुख लामो समयसम्म देशबाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कूटनीतिक मर्यादामा जोखिम उत्पन्न हुने भन्दै गगनले प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गरे । 

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाइएको, तर स्वास्थ्य अवस्था भने कमजोर भएकाले इच्छाशक्ति हुँदैमा प्रधानमन्त्रीले दायित्व पूरा गर्न नसक्ने उल्लेख गरे । सांसद थापाले नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गर्न पनि नेकपा नेतृत्वको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको आफूले पटक–पटक सुनेको बताउँदै उनले भने, ‘प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौ ? बा धपेडी नगर्नुहोस्, आराम गर्नुहोस् । बा विश्राम लिनुहोस् । हामी हाम्रो बालाई यसो भन्छौँ । तर, प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौ ?’

प्रधानमन्त्री २–३ महिनामा १०–१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर शासकीय जिम्मेवारी पूरा नहुने भन्दै उनले विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारले संसदलाई जानकारी नगराएकोप्रति पनि उनले संसदको गम्भीर ध्यानाकर्षण गराए ।





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १६:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया