इन्द्रजात्रा: वर्षा ऋतुलाई धन्यवाद दिने एउटा पर्व

काठमाडौं– नेपालमा नेवार समुदायको कला र संस्कृति निकै धनी मानिन्छ । हुन पनि काठमाडौंमा हरेक महिना कुनै विशेष पर्व वा चाड नेवार समुदायले मनाइरहेको हुन्छ । 

तिनै जात्रामध्ये एक हो, इन्द्रजात्रा । वर्षाको समय सकिएलगत्तै मनाइने यो जात्रा आज उपत्यकामा मनाइँदै छ ।

इन्द्र जात्रा देवताहरुका पनि राजा इन्द्रसँग सम्बन्धित जात्रा हो । यसले शरद ऋतुसँगै आउने चाडपर्वहरुलाई स्वागत गर्छ । 

हनुमानढोका अगाडि सल्लाको काठबाट बनेको लिङ्गो ठडाएपछि यो जात्राको सुरुवात हुन्छ । त्यो लिङ्गोमा इन्द्रको झन्डा हालिएको हुन्छ । पौराणिक मान्यताअनुसार यो झन्डा इन्द्रलाई भगवान विष्णुले दिएका थिए । यसले इन्द्रको रक्षार्थ काम गरेको विश्वास गरिन्छ । 

३६ फिट लामो यो लिङ्गो ठड्याउन त्यहाँ सयौँ मान्छे भेला हुन्छन् । लिङ्गो बनाउने काठ काभ्रेको नाला जंगलबार ल्याउने परम्परा छ । इन्द्रजात्रा आज सुरु भएर आठ दिनसम्म मनाइन्छ । 

जात्राको यो अवधिमा जीवित देवी मानिने कुमारीलाई पनि रथमा राखेर सहर परिक्रमा गरिन्छ । कुमारीले यो यात्रामा वर्षा तथा सहकालका देवता इन्द्रलाई धन्यवाद दिन्छिन् । कुमारीसँगै यो यात्रामा गणेश र भैरवको रथले पनि सहर परिक्रमा गर्छन् ।



इन्द्रजात्राको सुरुवात राजा गुणकामदेवले १० औं शताब्दीमा गरेका हुन् । उनले काठमाडौं सहर स्थापना भएको खुसीयालीमा यो जात्रा मनाउन सुरु गरेका थिए । 

अठारौं शताब्दीको मध्य तिर आएर कुमारीको जात्रा पनि यसमा जोडिएको हो । जात्राको समयमा हरेक साँझ उपत्यका सबै मन्दीरमा नौनी घ्युको बत्ती बाल्नुका साथसाथै टोलटोलमा लाखे नाच पनि नचाइने गरेको छ । 



अर्कोतिर इन्द्रलाई स्वर्गमा एउटा जडिबुटी चाहिएको र उनी त्यो लिन मान्छेको रुप लिएर काठमाडौं आएका थिए भन्ने पनि विश्वास छ । यो चाड त्यही इन्द्र भगवान नेपाल आएको सन्दर्भ पारेर मनाउन थालिएको पनि जनविश्वास छ । 

लाखे नाच, कुमारी दर्शन र अन्य सांस्कृतिक प्रर्दशनका लागि इन्द्रजात्रामा वसन्तपुर दरबार स्वाक्यरमा विशेष भीड हुने गरेको छ । यसले त पछिल्लो समय नेपाल घुम्न आएका विदेशी पर्यटकलाई पनि आकर्षण गर्न थालेको जछ । 

जात्राको पहिलो दिन ठड्याइएको लिङ्गो ढालेपछि जात्राको अन्त्य गरिन्छ । इन्द्रजात्रामा नेपाल सरकारले उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ । 

  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार ९:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया