काठमाडौं— नेपाली संगीतमा पछिल्लाे समय निकै राम्रा काम गरिरहेका छन्, संगीतकार सुरेश गैरे । उनले संगीत दिएका केही गीतहरु अहिले पनि नेपालीको जनजिब्रोमा झुन्डिएका छन् । विशेषगरि गजलहरुमा बढी संगीत योगदान दिएका सुरेश आफैंलाई आफ्ना तीन गीत कुन मन पर्छन् ? फरक धारका कमल विष्टले उनलाई दुई गीत छान्न लगाए र ती गीतमा संगीत भर्दाको पलबारे स्मरण गर्न लगाए । सुरेशले तीन गीत छाने र त्यसको ब्याकग्राउन्ड कथा भनेः
२०६९ साल अन्त्यतिरको कुरा हो । म महोत्तरीमा थिएँ । हाम्रो गणमा पवन खरेल सर हुनुहुन्थ्यो, एसपी । उहाँ मिठो गीत गाउनुहुन्थ्यो । हाम्रो रुचिको मिल्ने भएकाले बेलाबेलामा हामी संगीतको विषयमा गफिन्थ्यौँ ।
एक दिन उहाँले मलाई भन्नुभयो– सुरेश, तिम्रो संगीत मलाई एकदमै मन पर्छ, मेरालागि पनि एउटा राम्रो शब्द खोजेर संगीत गरिदेउ न ।
उहाँको प्रस्ताव मैले स्वीकार गरेँ । मैले ‘ड्याडी’ (कृष्णहरि बराल)लाई फोन गरेँ र एउटा गीत लेखिदिन अनुरोध गरेँ ।
त्यसको केही समयपछि उहाँले मलाई एउटा गजल पठाउनुभयो–
‘मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन’
साँझको बेला छतमा बसेर मैले यसो औंलाहरु हार्मोनियममा नचाएँ । यो गीतका लागि ट्युन तयार भयो, पहिलो खाका तयार भयो ।
मैले त्यो ट्युन, गजल एसपी सरलाई सुनाएँ । उहाँले मन पराउनु भयो । मैले गीतलाई फिनिसिङ दिएँ । तर, पूर्णरुपमा काम नसकिँदै हामी दुवैको त्यहाँबाट सरुवा भयो ।
सरुवा सँगसँगै गीत पनि यसै रोकियो ।
म सरुवा भएर काठमाडौं आएँ । काठमाडौंमा निर्देशक विकास आचार्यसँग भेट भयो । उहाँलाई ‘नाई नभन्नु ल–२’ का लागि एउटा गीत चाहिएको रहेछ ।
उहाँले भन्नु भयो– सुरेश, एउटा गीतमा तिमीले संगीत गरिदेउ न । गीतको भाव मलाई उहाँले बुझाउनु भयो ।
खासमा आचार्य सरको गीतको भाव पनि पहिले एसपी सरको जस्तै थियो । अन्तरामा केही शब्दहरु फेरबदल भए । गीत तयार भयो । यो गीत फिल्मका लागि एउटा बच्चाले गाउनु पर्ने थियो । हामीले प्रेम परियार भेट्यायौँ । तर, उनले स्टुडियोमा यसलाई गाउन सकेनन् ।
अनि मैले स्वरुपराज आचार्यलाई यो गीत गाइदिन अनुरोध गरेँ । स्वरुपराज र रजिना रिमालले गाएको गीत मैले प्रेम भाइलाई ठ्याक्कै यस्तै गाउनु पर्छ सुन है भनेँ । प्रेमले पछि ठ्याक्कै त्यसरी नै गीत गाए, यो गीत फाइनल भयो ।
पछि यो गीत भाइरल भयो, निकै धेरै ट्रोल पनि बने ।
एकपटक यो गीत सुनेर स्कुल पढ्ने एउटा सानो केटाले आत्महत्या गर्यो रे भन्ने सुन्नमा आयो । सर्लाहीमा अध्यापन गराउने मेरा एकजना मित्रले मलाई भन्नुभयो– मेरो एकजना विद्यार्थीले यो गीत निकै सुन्ने रहेछ, उसले त आत्महत्या गरेछ ।
पछि एकजना शिक्षकले पनि मर्ने कसैलाई रहर हुँदैन लेखेर आत्महत्या गरेछन् ।
यस्ता समाचार सुन्दा मलाई दुःख लाग्छ ।
एक जना शिक्षकले पनि सुसाइड नोटमा ‘मर्ने कसैलाई रहर हुँदैन’ लेखेर आत्यहत्या गरेछन् ।
यस्ता समाचार सुन्दा भने मन निकै खिन्न हुन्छ, यस्ता घटना नदोहोरिउन् भन्ने कामना गर्छु म ।
यो गीत २०६८ सालमा रिलिज भएको ‘चर्चा’ एल्बमको हो ।
यो गीत रचना हुँदादेखि रेकर्ड भएर बाहिर आउँदासम्म मैले धेरै आरोहअवरोह खेपेँ । रेकर्डिङमा पनि निकै समस्या भएको थियो ।
खासमा त्यति बेला मेरो विवाह भइसकेको थिएन । म मेरी श्रीमतीसँग केशर महलको गार्डेन अफ ड्रिम्समा गएको थिएँ । त्यति बेला हामी एकअर्काका अत्यन्त मिल्ने साथी थियौँ ।
‘माया जस्तो पवित्र कुरामा पनि यस्तो लुकीलुकी भेट्नु पर्ने, समाजले किन दुई मायालुलाई शत्रु ठान्छ,’ मैले उनलाई प्रश्न गरेँ ।
तत्काल मेरो दिमागले एउटा धून कोर्न थाल्यो । मैले गुनगुनाएँ । उनले भनिन्– कस्तो राम्रो धून ।
त्यही साँझ मैले माधव ढकाललाई फोन गरेर भनेँ– माधव यो थिममा एउटा गीत कोर न । केही समयपछि उनले गीत तयार पारे र सुनाए–
‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
दुनियाँको कामै यही जति जल्छन् जल्न देउ’
यसमा मैले केही दिन लगाएर संगीत भेरेँ । अनि मैले यो गीत सबैभन्दा पहिले उनलाई नै सुनाएँ ।
त्यसपछि हामीले यो गीत रेकर्ड गरायौँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।