नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं– सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गरेका थिए ।

हाल ती पुलहरु ६ मिटर हाराहारी फराकिला छन् । सडक भने नौदेखि ११ मिटर फराकिलो छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनियर दीपक भट्टराईका अनुसार एक साताअघि डिजाइनसहित निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । एक महिनाभित्रमा प्राप्त बोलपत्रमध्ये छनोट गरी ठेक्काको टुंगाे लगाइनेछ । ती पुल निर्माण सम्पन्न गर्न करीब तीन वर्ष लाग्ने अनुमान गरिएको भट्टराईले जानकारी दिए ।

बोलपत्रको टुंगाे लागेपछि वास्तविक लागत आउने भए पनि एक अर्ब ३० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । सुरुमा नेपाल सरकारले पुल निर्माणको भुक्तानी गर्नेछ । पछि सो रकम ऋणका रूपमा विश्व बैंकले उपलब्ध गराउने उनले जानकारी दिए । निर्माण गर्न अप्ठ्यारो पर्ने तीन पुल नौ मिटर फराकिला हुनेछन् भने अन्य पुल ११ मिटर फराकिला हुने भट्टराईले बताए ।

ठेक्का परेपछि ठेकेदार कम्पनीले पहिले पुलको नक्सा‌कन गर्नेछन् । सो नक्सा विभागले अनुमोदन गरेपछि निर्माणको काम सुरु हुनेछ । हाल सोही सडकखण्डका तीन पुल निर्माण सम्पन्न भएका छन् भने एउटा पुल निर्माणाधीन अवस्थामा छ । साँघुरा र जीर्ण पुल भएकाले समय–समयमा सवारी आवागमनमा अवरोध हुँदै आएको छ ।

सडकको भित्ता काटेर फराकिलो बनाएसँगै यस वर्षको वर्षात्मा यात्रुले दुःख पाएका छैनन् । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवागमन हुने गर्छन् । राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख सडकका रूपमा यस सडकलाई लिने गरिएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १६:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया