नेकपा सरकार इतिहासमै असफल सरकार: देउवा

काठमाडाैं— प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दावी गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दसैंमा सामान किनमेल गर्नसमेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको  भन्दै आक्रोश व्यक्त गरे । दसैंको अवसर पारेर पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दावी गरे ।

‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ,’ उनले भने, ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन, यति महंगी सरकारले बढाएको छ कि जनताले दसैंं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ उनले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोपसमेत लगाए । 

सभापति देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी दिए । उनले पार्टी भित्रको अन्तरघातकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरे । 

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरेका थिए । नेपाली कांग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भएपनि अन्तरघातका कारण हार्नु परेको दावी गर्दै सभापति देउवाले आगामी निर्वाचनमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने बताए । 

कांग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गरेका थिए । नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने चेतावनी उनले दिए ।



थापाले पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा कम्युनिस्ट पार्टी मात्रै नेपालमा रहने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै सिंहको गर्जनका साथ कम्युनिस्ट पार्टी आए कांग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्ने दृढता व्यक्त गरे । थापाले सरकारले लोकतन्त्र विरोधी गतिविधिलाई अघि बढाएकाले त्यसको विरोध गर्नु परेको बताए । 



  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १३:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया