पर्सामा बढ्याे तस्करी

पर्सा– पर्सामा सीमापार तस्करी मौलाउँदै गएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई दिनअघि दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–१६ नगवाका ४५ वर्षीय आवास अली र २२ वर्षीय अस्ताक आलम छन् ।

उनीहरू बाबुछोरा हुन् । वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी टोलीले वीरगन्ज–४ नारायणी अस्पतालअगाडि मेनरोडबाट उनीहरूलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा उनीहरूको साथबाट १२ लाख रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले बताए । उनीहरू सवार ना.५७प ३०६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । 

 चार महिनामा ५१ लाख बरामद
हुन्डी कारोबारीबाट पर्सा प्रहरीले चार महिनाको अवधिमा करिब ५१ लाख रुपैयाँ बरामद गरेको छ । २० जेठयता हुन्डी कारोबारीबाट ५० लाख ९६ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

त्यसक्रममा नौजना पक्राउ परेको एसपी राठोरले जानकारी दिए । पक्राउ परेकाबाट प्रहरीले एक अर्ब २९ करोडको बिगोदाबी गरेको छ । त्यसैगरी, स्रोत नखुलेको २०  लाख ९९ हजार रुपैयाँसहित पक्राउ परेका चारजनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको पर्सा प्रहरीले जनाएको छ । स्रोत नखुलेको भारतीय पाँच लाख ८० हजारसहित पक्राउ परेका पाँचजनालाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएकोे पर्सा प्रहरीले जनाएको छ । 

 रोकिएन तस्करी 
पर्साका विभिन्न नाका हुँदै भारतबाट अवैध सामान ल्याउनेक्रम रोकिएको छैन । भन्सार छलेर खाद्यान्न, कपडा, विद्युतीय सामग्री, मोटर पार्टस्, शृंगारका सामान, मल, मरिच, केराउ, छगडा, सुपारीलगायत समान दिनहुँ नेपाल भित्रिरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व गस्ती टोलीले विभिन्न नाकाबाट अवैध समान बरामद गरिरहेको छ । 

तर, मुख्य भन्सार नाकाआसपास र सुरक्षा निकायको उपस्थिति नरहेका ठाउँबाट भन्सार छल्दै त्यस्ता सामान नेपाल भिœयाइने गरेका छन् । पर्साका विभिन्न नाकाबाट हरेक दिन अवैध सामानसहित मानिस पक्राउ परिरहेका छन् । तर, तस्करीमा संलग्नलाई प्रहरीले पक्राउ गरे पनि ठूलो सजायविनै छुट्ने गरेका छन् । 
तस्करीमा संलग्न सामान्य धरौटीमा छुट्दै आएका छन् ।



महिलाले वीरगन्ज भन्सारको मुख्य नाकाबाटै दिनहुँ अवैध रूपमा सामान ओसार–पसार गर्दै आएका छन् । त्यसरी सामान ओसार–पसार गर्ने महिलाको संख्या सयौँ रहेको स्थानीय बताउँछन् । नाकामा तैनाथ भन्सार कर्मचारी र प्रहरीले आर्थिक प्रलोभनमा पोके तस्करलाई छाड्ने गरेका छन् । पछिल्लो समय पोके तस्करले मरिच, केराउजस्ता वस्तु चोरी–निकासी गर्ने गरेका छन् ।



  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार ९:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया