टिकटकभर पूर्वयुवराज पारस शाह, सम्बन्धमा छन् सोनिकासँग ?
तस्वीर: इन्टरनेटबाट ।

काठमाडौं– पछिल्ला केही दिन यता सामाजिक सन्जाल टिकटकमा पूर्वयुवराज पारस शाह देखिएका भिडियोहरु निकै धेरै आउन थालेका छन् । विशेषतः उनको हामी सबै नेपाली हौँ, कुनै वाद छैन भन्ने भिडियो टिकटकमा भाइरल भएको छ । 

सुमन नामका एक व्यक्तिले अपलोड गरेको भिडियोमा पारस शाह एउटा मोटरसाइकलमा बसिरहेका हुन्छन् । त्यसपछि उनले हामी कोही कुनै वादी नभएको तर नेपाली भएको बताउँछन् । 

केही बेरमा नै त्यहाँ एक युवती आउँछिन् । पारस हेल्मेट लगाएर नै मोटरसाइकलमा बसिरहेका हुन्छन् । ती युवती आएलगत्तै उनी मोटरसाइकल स्टार्ट गर्छन् । र, युवतीलाई पछाडि राखेर हुँइकिन्छन् । 

भाइरल भइरहेको यही भिडियो मात्र होइन, पारसका अन्य भिडियोहरु पनि अहिले सामाजिक सन्जालमा निकै भेटिन्छन् । अधिकांश ती भिडियोहरु चाहिँ सोनिका नाम गरेका एकाउन्टबाट बाहिर आइरहेका छन् । 

कुनै भिडियोमा पारसले पनि बोलेका छन् भने कुनैमा उनी चुपचाप देखिन्छन्, पछाडि मुस्कुराइरहेका हुन्छन् । 



पारसका यी भिडियोहरु आउन थालेपछि मानिसहरुले सामाजिक सन्जालमा नै लख काट्न थालेका छन्, पारस र सोनिका सम्बन्धमा छन् । 

यो अड्कलबाजीलाई केले सहयोग गरेको छ भने पछिल्लो केही समययता पारसलाई घरमा उनका बाबु तथा राजा ज्ञानेन्द्र शाहले इन्ट्री दिएका छैनन् । त्यसैले उनको पत्नी हिमानी शाहसँग सम्बन्ध बिग्रिएको र उनीहरुबीच लामो समयदेखि बोलचाल नै बन्द भएको अनुमानहरु आएका छन् । यीनै अनुमानका कारण पारस र सोनिकाको सम्बन्ध झाँगिएको हुनसक्ने धेरैले सार्वजनिक भएका भिडियो तथा सोनिकाका स्टाटसमा कमेन्ट पनि गरेका छन् ।  



 

को हुन् सोनिका ?

भिडियो प्लेटफर्म युट्युबमा जे पायो त्यही अन्तर्वार्ता लिएर र उच्छृङ्खल अन्तर्वार्ताहरु लिएर चर्चामा आएकी हुन् धनगढीकी सोनिका रोकाया । पहिले उनी काठमाडौंकै एफएममा काम गर्थिन् । सोनिकाले पछिल्लो समय युट्युबमा आफ्नो च्यानल चलाउँदै आएकी छिन् । उनले आफ्ना च्यानलमा राम्रै फलोअर्स पनि पाएकी छिन् । 

केही अघि उनी भारतमा पुगेर भारतीय कमेडियन कपिल शर्माको अन्तर्वार्ता लिएका कारण पनि चर्चामा आएकी थिइन् । पछिल्लो समय त उनले पारससँग डान्सबार वा पबमा गएका भिडियो राख्न थालेकी छिन् । केही अघि यी दुईको सार्वजनिक भएको भिडियो चाहिँ पोखरामा हो । 

तर, सोनिका र पारस दुवैले आफ्नो प्रेम स्वीकार गरिसकेका छैनन् । सोनिकाले एक अनलाइनलाई अन्तर्वार्तामा दिँदा पनि आफूहरु साथी मात्र भएको बताएकी छिन् । 

तर, उनले टिकटकमा जुन भिडियो बनाएकी छिन्, त्यसले दुई प्रेमी र प्रेमिकाले बनाउने भिडियो जस्तो संकेत गरेको छ । 

पारसलाई ब्याकग्राउन्डमा राखेर उनले बनाएको भिडियोको गीत हो– कल्लाई थाहा छैन, मुख खोलेर पो भन्न भाछैन । 

यो भिडियोमा पारस पछाडि देखिन्छन् र त्यहाँबाट उनी भिडियो अन्त्यमा हाँस्दै अर्कोतिर जान्छन् । सोनिकाले योमात्र होइन, पारससँगका अरु भिडियो पनि सेयर गरेकी छिन् । 

 

सोनिकाले थपिन् आफ्नो फेसबुक नाममा सरकार

पारसका समर्थक वा राजतन्त्र चाहिन्छ भन्नेहरु अहिले पनि पारसलाई सामाजिक सन्जालमा सरकार भनेर बोलाउँछन् । उनी जाने केही कार्यक्रमहरुमा पनि उनको स्वागतमा सरकार भन्ने शब्द नै प्रयोग गरेको भेटिन्छ । 

त्यही भएर हुनसक्छ, सोनिकाले आफ्नो फेसबुकमा अब आफ्नो नाममा पनि सरकार जोडेकी छिन् । यही कारणले पनि पारस र सोनिकाको हिमचिम बढेको हुनसक्ने वा उनीहरु सम्बन्धमा भएको हुनसक्ने अड्कलबाजीलाई बल पुगेको छ । पहिले रोकाया सोनिका लेख्ने सोनिकाले केही दिनअघि मात्र आफ्नो फेसबुकमा नाम फेरेर राखेकी छिन्– रोकाया सरकार सोनिका । 

सोनिकाले यो सबै भएपछि आफ्नो फेसबुकमा पारसको विचार भन्दै एउटा लामो स्टाटस पनि राखेकी छिन् । उनले पारससँगकाे सम्बन्ध उचित समयमा थाहा दिने पनि आफ्नाे स्टाटसमा लेखेकी छिन् ।

 

अधिकांशलाई हिमानीको चिन्ता

एकातिर पारस र सोनिकाका भिडियो बाहिर आइरहनु र अर्कोतिर पारसको पत्नी हिमानीसँग सम्बन्ध राम्रो नभएको हल्ला चलिरहनुले यी भिडियो हेर्नेहरु अधिकांशले हिमानीको चिन्ता लागेको प्रतिक्रिया दिएका छन् । उनीहरु धेरैले एउटा महिलामाथि सोनिकाले अन्याय गरेको पनि प्रतिक्रिया दिएका छन् । 

कतिले त पारसकै खराब बानी व्यहोरका कारण यस्तो अवस्था आएको पनि आफ्नो प्रतिक्रियामा उल्लेख गरेका छन् । 

कोहीले चाहिँ सोनिका र पारसको भिडियोमा कमेन्ट गरेका छन्– ल हेर, तिमीहरुका राजारानी । सोनिकासँग पारसको नाम जोडिदाँ वा यी भिडियोहरु यसरी बाहिर आउँदा चाहिँ धेरैको चिन्ता हिमानीमाथि नै छ । 

टिकटकमा पुस्प शाह नामको एकाउन्टबाट लेखिएको छ– एउटा विवाहित नारीलाई योभन्दा ठूलो पीडा के होला ? नारी सबै बाँड्न सक्छिन् तर बुढो बाँड्न सक्दिनन् । हिमानीले कसरी सहेकी होलिन् यो पीडा ?

त्यस्तै, अनु खनालले लेखेकी छिन्– हिमानी, तिमीप्रति सम्मान बढेर आयो । 

त्यसो त सोनिकाले एक अन्तर्वार्तामा आफ्नो र पारस शाहको विगतलाई लिएर धेरैले अनावश्यक टिकाटिप्पणी दिएको बताएकी छिन् । तर, टिकटक र फेसबुकमा यी भिडियोहरुका कमेन्टमा सोनिका र पारस शाहको विगतबारे निकै धेरै प्रश्न उठाइएका छन् ।

  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १३:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया