दरबार हाइस्कुल पुनर्निर्माणकाे काम ८० प्रतिशत सकियाे

काठमाडौं – निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (संस्कृत मावि तथा भानु मावि) को पुनर्निर्माणकाे काम ८० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले लिएको छ ।

तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् । निर्माणको कामअन्तर्गत अहिले रंगरोगनको कम भइरहेको छ । आगामी माघ महिनासम्ममा निर्माणको सबै काम सकिने जनाइएको छ । 

८५ करोडरुपैयाँको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठे हुने भएको छ । यस भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताए । 

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको उक्त हाइस्कुल को पुनर्निर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पाउने भएका थिए । 

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिने बताइएको छ । 

सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिलेजतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताए । 



भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि पनि सञ्चालित थियो । हाल संस्कृत मावितर्फ दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भानुतर्फ भने  पुग–नपुग एक सय विद्यार्थी छन् । दुवैमा गरी ३५ शिक्षक कार्यरत छन् ।

ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम सुरु भएको हो । 



चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोरखा भूकम्पका कारण सात हजार ५ सय विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६ सय विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएकोे छ ।

एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १५:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया