को होला पहिलो नेपाल लोक स्टार ?

काठमाडौं– चाहना मिडिया प्रालिले आयोजना गरेको लोकगीतको रियालिटी सो नेपाल लोक स्टारको आज फाइनल प्रतियोगिता हुँदैछ । मौलिक नेपाली लोकगीतहरुको रियालिटी सो भएकाले यो कार्यक्रमले छोटो समयमा नै राम्रो रेस्पोन्स पाएको थियो । 

जयनन्द लामा, रामजी खाँण, सुनिता दुलाल र बिबि अनुरागी निर्णायक रहेको यो कार्यक्रमका लागि सुरुको चरणमा ६ हजारभन्दा धेरैले अडिसन दिएका थिए । त्यहाँबाट छानिएका र उत्कृष्ट २० मा परेका प्रतियोगीमध्ये निर्णायक र दर्शकको मतदानको आधारमा अन्तिम चारमा स्थान बनाउन सकेका छन्, रामकुमार नेपाली, सनी विश्वकर्मा, चेतन गोतामे र बिनोद दनुवारले । 

यी चारमध्ये कसले जित्ला त यो उपाधि ? 

यो प्रतियोगिताको पहिलो ट्रफी उचाल्ने सम्भावना सबैभन्दा बढी रामकुमार नेपालीको भएको मान्छन्, यो कार्यक्रमलाई सुरु देखि नै फलो गरिरहेका दर्शकहरु । 

रामेछापका नेपाली यसअघि पनि एउटा प्रतियोगिताका विजेता भइसकेका छन् । उनले इमेज टिभीबाट सन्चालन हुने एक प्रतियोगितामा पहिलो स्थान पाएका थिए ।यसपटक लोक स्टारमा नेपाली डिजिटल अडिसनबाट छानिएका हुन् । उनले कार्यक्रममा पाँच पटकसम्म बेस्ट पर्फमरको उपाधि पाए । त्यसैले पनि उनको सम्भावना बढी छ भन्ने अनुमान गरिएको छ । उनी प्रतियोगिताभर सधैं सेफ जोनमा नै रहिरहे । यसले पनि नेपालीलाई यो उपाधिको दाबेदार मानिएको छ । 

त्यस्तै, रामकुमारले लामो समय देखि होटल तथा दोहोरी साँझहरुमा गीत गाउने गरेका छन् । उनको गायन वृत्तमा पनि राम्रो सम्पर्क रहेकाले उनलाई अन्य गायक तथा गायिकाको पनि समर्थन मिल्न सक्ने अनुमान धेरैले गरेका छन् ।



यसको अर्थ रोल्पाका सनी विश्वकर्माको सम्भावना कम छ भन्ने होइन । डिजिटल अडिसनबाट नै छानिएका सनीले पनि कार्यक्रममा एक पटक बेस्ट पर्फमरको अवार्ड पाएका थिए । उनको स्वर राम्रो भएकाले नयाँ पुस्ताका युवायुवतीको साथ र समर्थन उनलाई राम्रो छ । त्यसैले यसपटक सनीले पनि यो अवार्ड उचाल्ने सम्भावना बढी छ । सनी मेगा अडिसनबाट टप ट्वान्टीमा सोझै पुगेका थिए । 

अर्का फाइनलिस्ट चेतन गोतामे स्याङ्जाका हुन् । लोकगीतका लागि चाहिने ट्युन गोतामेको स्वरमा अत्यन्त राम्रो सुनिन्छ । उनी अत्यन्त मेहनेती छन् । उनले सुरुवात देखि अहिलेसम्म आइपुग्दा आफूलाई निकै इम्प्रुभ गरेका छन् । कुनै समय डेन्जर जोनमा परेर बाहिरिने हुन् कि भन्ने अनुमान गरिएका चेतनले कति सुधार गरे भने त्यसपछि उनी बेस्ट पर्फमरसम्म भए । लोक गीतमा पश्चिमको विशेष प्रभाव रहेको र चेतन पनि स्याङ्जाका भएकाले उनलाई पश्चिमका कलाकारको साथ र सहयोग प्रष्ट देख्न सकिन्छ । यही आधारमा पनि उनले यसपटक लोक स्टारको उपाधि जित्न सक्छन् ।



कार्यक्रमका अर्का फाइनालिस्ट बिनोद दनुवार उदयपुरका हुन् । बिनोदको स्वर राम्रो भएको कार्यक्रमका निर्णायकहरुले बारम्बार प्रतिक्रिया दिइरहेका छन् । उनले काठमाडौं अडिसनबाट नै लोक स्टारमा आफ्नो स्थान पक्का गरेका थिए । उनले अहिलेसम्मका अधिकांश सोहरुमा दर्शकको मात्र होइन, निर्णायकको पनि राम्रो प्रशंसा पाएका छन् । मेहनेती बिनोद कार्यक्रममा चाहिँ एक दुई पटक डेन्जर जोनमा त परे तर पछिल्लो समय उनले आफ्नो गायनमा निकै सुधार गरेका छन् । भोट पनि उनलाई राम्रै मिलिरहेको थियो । त्यसैले, आजको फिनालेबाट उनले पनि लोक स्टारको ट्रफी जित्न सक्ने सम्भावना उत्तिकै छ ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार ११:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया