कप्तान ज्ञानेन्द्र मल्ललाई ९ चुनौति

काठमाडौं– भनिन्छ, क्रिकेट अत्यन्त अप्रत्याशित खेल हो । यसमा कतिबेला के हुन्छ भन्ने अनुमान गर्न सकिँदैन । 

त्यस्तै, अनुमान र आशा गरिएभन्दा बिल्कुलै फरक केहीअघि नेपाली क्रिकेट कप्तान पारस खड्काको कप्तानबाट राजीनामाले सबैलाई अचम्ममा पारिदियो । अचानक आएको उनको राजीनामा सँगै नेपाली क्रिकेट टोलीले नयाँ कप्तान पनि पाएको छ, ज्ञानेन्द्र मल्ल । 

तिनै ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो पटक टियु ग्राउन्डमा एमसिसीसँग नेपालले खेल्दै छ । क्यानले उनलाई कप्तान बनाएपछि केकस्ता चुनौतिको सामना ज्ञानेन्द्रले गर्नु पर्ला त ? उनका लागि ९ चुनौतिः

 

सफल कप्तानका रुपमा प्रमाणित गर्न

ज्ञानेन्द्र मल्लले नेपाली टिमको उपकप्तानको जिम्मेवारी सन् २००९ देखि नै सम्हाले । त्यसैले पनि पारस खड्काको अनुपस्थितिमा उनले नेपाली टिमको नेतृत्व गरे । त्यसैले कप्तानी मात्रै पनि ज्ञानेन्द्र मल्लका लागि नयाँ कुरा होइन । तर, यसपटक उनले आफूलाई सफल कप्तानका रुपमा चिनाउन सक्नु पर्ने छ ।  



यसका लागि उनलाई सहज हुनसक्ने अनुमान पनि गर्न सकिन्छ । किनकि घरेलु लिगमा उनले नेतृत्व गरेको ललितपुर प्याट्रियसले गत वर्ष एभरेस्ट प्रिमियर लिगको उपाधि जितेको छ । अब आजकै दिनदेखि ज्ञानेन्द्रको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिँदै छ । नेपालले क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग खेल्ने एक दिवसीय, तीन दिवसीय र टी २० मा कस्तो प्रदर्शन गर्ने छ, त्यसले ज्ञानेन्द्रको कप्तानीको छनक दिनेछ । ज्ञानेन्द्र मल्लले आफूलाई प्रमाणित गर्न यो खेलबाट नै सुरुवात गर्नु पर्ने हुन्छ ।

 



खेलाडीहरुसँगको समन्वय

त्यति धेरै त होइन, तर बारम्बार नेपाली क्रिकेट टिममा पनि खेलाडीहरुको मनमुटाव राम्रै देखिन्छ । यसको पछिल्लो उदाहरण बलर सन्दीप लामिछाने र पूर्वकप्तान पारस खड्काबीचको खटपटलाई पनि लिन सकिन्छ । अब यस्ता मनमुटावलाई चिरेर ज्ञानेन्द्र मल्ल अगाडि बढ्नु पर्ने हुनछ ।

नेपाली क्रिकेट अहिले वामे सरिरहेको अवस्थामा छ । यस्तो अवस्थामा खेलाडीहरुबीच उत्पन्न हुनसक्ने तिक्ततालाई मत्थर नगर्ने हो भने यो वामे सराइको अन्त्य अत्यन्त दुखद हुनसक्छ । त्यसैले ज्ञानेन्द्र खड्काले यसमा ध्यान दिनु पर्ने हुन्छ । अनि उनका समकक्षी पनि टिममा भएकाले उनका केही निर्णयमा उनीहरुले विवाद सिर्जना गर्न सक्छन् । यसलाई ज्ञानेन्द्र खड्काले समयमा नै ख्याल गर्नु पर्ने देखिन्छ ।

 

प्रदर्शनमा सुधार

ज्ञानेन्द्र मल्लले अब आफ्नो मात्र होइन, सम्पूर्ण टिम सदस्यहरुको प्रदर्शनमा कसरी सुधार ल्याउने भन्ने कुरामा ध्यान दिनु जरुरी हुनेछ । केही समययता स्वयं ज्ञानेन्द्र मल्लको प्रदर्शन आशा गरिएअनुसार राम्रो भइरहेको छैन । त्यसैले उनका सामु चुनौति के हो भने आफ्नो र टिमका अन्य सदस्यको खेलमा सुधार ल्याउनु । हो, टिमको सुधारलाई अन्य विविध विषयले पनि निर्धारण गर्छन् । तर, यसमा कप्तानको प्रभावकारी भूमिका पनि उत्तिकै हुन्छ । 

 

क्यानसँग सुमधुर सम्बन्ध

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले लामो समयपछि नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गरेको छ । यही निलम्बन फुकुवा पछि अप्रत्याशित रुपमा पारस खड्काको राजीनामा आयो । पारसको राजीनामाले त्यसैले पनि आशंका जन्माइदिएको छ– क्यान र क्रिकेट खेलाडीबीचको सम्बन्ध सुमधुर छैन । 

अब यो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन, यसलाई नयाँ तरिकाबाट ट्याकल गर्न र नेपाली क्रिकेटलाई थप उचाइ दिन ज्ञानेन्द्रको भूमिका निकै महत्वपूर्ण हुन्छ । अब उनले क्रिकेट खेलाडी र प्रतियोगिता, क्रिकेट खेलाडीका चाहना र आवश्यकता, खेलाडीका सुविधा र प्रदर्शन र त्यसमा क्यानको भूमिकालाई कसरी ट्याकल गर्छन्, हेर्न बाँकी छ । तर, यो उनका लागि सबैभन्दा ठूला चुनौतिमध्ये एक हो । 

 

पिचमा क्विक डिसिजन

ज्ञानेन्द्र मल्ल पारस खड्काका ‘सक्सेसर’का रुपमा नेपाली क्रिकेट टिम सम्हाल्दै छन् । यसअघि पारसले जुन प्रदर्शन गरेका थिए, मैदानमा र मैदानबाहिर, खेलाडीसँग र आफ्ना समर्थकसँग, त्यसलाई अझ बलियो बनाएर ज्ञानेन्द्र मल्ल अगाडि बढ्नु पर्ने हुन्छ । सौम्य र शान्त, क्विक र राइट डिसिजन अर्थात् निर्णय मैदानमा र मैदानबाहिर लिनु पनि ज्ञानेन्द्रका लागि चुनौति हुनसक्छ । 

 

नेपाली अपेक्षा पूरा गर्न

नेपालमा विशेषगरि युवाहरुमा अत्यन्त धेरै क्रिकेट क्रेज देखिन थालेको छ । अनि राजनीति र अन्य क्षेत्रलाई नराम्रोसँग गाली गरिरहेका नेपाली युवाहरु क्रिकेटप्रति निकै आशावादी छन् । क्रिकेटमा नेपाली टिमको हार होस् या जित, नेपालीले त्यसलाई सहजै लिन थालेका छन् । यसको अर्थ के होइन भने उनीहरुको क्रिकेटसँग कुनै अपेक्षा छैनन् । बरु नेपाली दर्शकले फुटबल वा अन्य खेलबाट त्यति अपेक्षा नगरेका होलान्, क्रिकेटबाट उनीहरुले अत्यन्त धेरै अपेक्षा गरेका छन् । यी अपेक्षालाई परिपूर्ति गर्नु पनि ज्ञानेन्द्रका लागि अर्को चुनौति हो ।

 

कडा आलोचक 

ज्ञानेन्द्र मल्लले पछिल्ला खेलमा जसरी आफ्नो प्रदर्शनमा सन्तोषजनक सुधार गर्न सकेका छैनन्, त्यसरी नै उनको आलोचना पनि बढ्दै गएको छ । उनी फर्ममा छैनन् भन्ने बारम्बार सुनिन थालेको छ । यो आलोचनालाई एड्रेस गर्नु ज्ञानेन्द्र मल्लका लागि अर्को चुनौति हो । उनी छिटै फर्मममा पुनरागमन गर्न सकेनन् त्यसले उनको आलोचना बढ्दै जान्छ । यसलाई ज्ञानेन्द्र मल्लले तत्काल सम्बोधन गर्नु पर्ने हुन्छ ।

 

कसरी झेल्ने दबाब ?

त्यसो त पारसको अनुपस्थितिमा ज्ञानेन्द्रले कप्तानको भूमिका निर्वाह गरेका छन् । तर, अब पूर्ण कप्तानका रुपमा एउटा खेलमा कप्तानी गरेजस्तो मात्रै पनि हुँदैन । त्यसैले उनले खेलाडी, व्यवस्थापन, प्रतियोगिता, प्रतिस्पर्धीलगायतका विषयमा अनेक दबाबको सामना गर्न पर्ने हुन्छ । यसलाई उनले कसरी झेल्छन्, त्यो नै उनको लागि एउटा चुनौति हो । 

 

यसअघिका उपलब्धि सम्बोधन गर्न

एक दशकमा नेपाली क्रिकेट टिमले निकै धेरै उपलब्धि हासिल गरेको छ । एकदिवसीय मान्यता, टि–२० विश्वकपलगायतका नेपालका उपलब्धि चानचुने होइनन् । तर, यसलाई बचाइराख्न चाहिँ नेपालका लागि चुनौति हुनसक्छ । आफूले पाइसकेका स्थानहरु नगुमाओस् भनेर पनि नेपाली क्रिकेट टिमका लागि ज्ञानेन्द्र मल्लले विशेष समय दिनु पर्ने हुन्छ । अनि यी र यस्तै उपलब्धि र यसपछिका एडभान्समेन्टका लागि पनि ज्ञानेन्द्रको कुशल कप्तानीको आश हुन्छ । र, यो पनि उनका लागि विशेष चुनौति हो ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १०:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया