नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक राजधानीमा जारी

काठमाडौं– नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक राजधानीमा जारी छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागी र एसिया–प्रशान्त क्षेत्रका लागि संघका नायव प्रबन्ध निर्देशक पाओला पम्पालोनीले संघको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । 

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।बैठकमा व्यापार–वाणिज्यका साथै आर्थिक तथा विकास सहायता, संयुक्त लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, पर्यावरण, मानव संशाधन विकासका क्षेत्रमा संघद्वारा प्राप्त सहयोग अभिवृद्धिलगायत विषयमा पनि विचारविमर्श हुनेछ । बैठकमा नेपालको राजनीतिक स्थितिबारे पनि छलफल हुनेछ । 

संघले मानवीय सहायताका साथै युरोपेली लगानी बैंकमार्फत भौतिक पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको छ । एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका निम्ति उक्त बैंकले पाँच करोड ५० लाख युरो ऋण सहयोग गरेको छ । भुटानी शरणार्थीलाई खाद्य सहयोग तथा शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयमार्फत पनि सहयोग गर्दै आएको छ । 

हरेक दुई वर्षमा काठमाडौं र ब्रसेल्समा पालैपालो उक्त बैठक हुँदै आएको छ । पारस्परिक लाभका विषयमा विचारविमर्श गर्न सन् १९८६ मा संयुक्त आयोग स्थापना भएको हो । नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता संघले नेपालको राजनीतिक एवं आर्थिक क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको छ । नेपालको निर्यात प्रवर्द्धनका निम्ति संघले नेपाली उत्पादनलाई सन् २०१५ सम्मका लागि  ‘ड्युटी फ्री, कोटा फ्री’ सुविधा प्रदान गरेको थियो । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७६ शुक्रबार १७:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया