अनि योगेश्वर अमात्यले भने– यही मञ्चमा भाषण गर्ने नेता कहाँ पुगे, मञ्चको हालत यस्तो भयो

काठमाडौं– जब राज्य जनताका कुरा सुन्दैन, उसविरुद्ध आवाजहरु सडकमा सुनिन्छन् । चाहे त्यो राजनीतिक विषयमा होस् या सामाजिक विषयमा, लोकतन्त्रमा आफ्नो मत राख्ने ठाउँ जनताले सडकलाई नै रोज्छन् । 

यो शनिबार अर्थात् आज अर्थात् २३ कार्तिक पनि त्यस्तै भयो । राज्यले टुँडिखेलमाथिको अतिक्रमणलाई बढावा र निरन्तरता दिएपछि राज्यलाई झकझकाउन अभियान सुरु भएको छ– अकुपाइ टुँडिखेल । 

शनिबार विहान आठ बजे काठमाडौंमा भर्खर सुरु भएको चिसो हटिसकेको नै छैन । तर, टाढाटाढाबाट मानिसहरु खुलामन्चमा भेला भए, टुँडिखेलमाथिको अतिक्रमण रोकियोस् भन्दै । 

यो अभियानलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई देखि सांसद गगन थापाले पनि समर्थन गरे । अनि काठमाडौंका लागि अति आवश्यक मानिने यो टुँडिखेल जोगाउनका लागि आएका थिए, सेलेब्रिटी देखि सर्वसाधरण । 

‘टुँडिखेल कसैको विर्ता होइन, अब जनताले फिर्ता लिन्छन्,’ आशयका प्लेकार्ड लिएर मानव साङ्लो बनाएर टुँडिखेल घेराउ कार्यक्रममा आइपुगेका थिए सयौँ मानिस । यसमा सहभागी सबैको एउटै स्वर थियो– टुँडिखेललाई बचाउनु पर्छ । 

यसअघि यो अभियानका अभियन्तामध्येका एक जीवन श्रेष्ठले त फरक धारसँगको कुराकानीमा भनेका थिए– टुँडिखेल काठमाडौंको फोक्सो हो, यसलाई जोगाऔँ । 



गायक प्रेमध्वज प्रधानले पनि फरक धारसँगको कुराकानीमा आफ्ना बाल्यकालीन सम्झना सेयर गरेका छन् । उनी पनि टुँडिखेल बचाउनु पर्ने मागमा छन् । 

 



याे पनि पढ्नुहाेस्:

0 प्रेमध्वजकाे सम्झनामा टुँडिखेल

 

त, शनिबार यो अभियानमा सहभागी हुन आइपुगेका थिए, गायक योगेश्वर अमात्य । अमात्य जहिले पनि सार्वजनिक कार्यक्रमहरुमा आफ्नो सहभागिता जनाइहाल्छन् । केहीअघि उनले फरक धारसँग कुराकानी गर्दै भनेका थिए, ‘हाम्रो सार्वजनिक सम्पदा हामीले बचाउन पर्छ, सार्वजनिक सरोकारका कार्यक्रममा नगइ म बस्नै सक्दिनँ ।’

हुन पनि योगेश्वर अमात्यले गुठी विधेयकविरुद्धको आन्दोलनमा एउटा फरक नजीर स्थापना गरेका थिए । उनले आन्दोलनकारीलाई लाठी बर्साइरहेका प्रहरीलाई दिएका थिए, फूलका गुच्छा । 

‘यसले प्रेम र सद्भाव बाँड्छ,’ उनले फरक धारसँग त्यति बेला कुराकानी गर्दा बताएका थिए, ‘हामीले सरकारलाई झकझकाउन यस्तो आन्दोलन गरेका हौँ, प्रहरीमाथि रिस पोखेर केही हुँदैन ।’

शनिबार पनि उनी ‘कुल’ मुद्रामा देखिएका थिए । ‘यो खुलामन्चले कति नेता जन्मायो, उनीहरु कहाँकहाँ पुगे,’ योगेश्वरले शनिबार विहान अकुपाइ टुँडिखेलमा सहभागी भएपछि भने, ‘तर, यही मन्चमा भाषण गरेर नेता ठूला भए पनि यो मन्चको हालत आज बेहाल भएको छ ।’

त्यसो त योगेश्वर यही सहरमा जन्मिएका हुन्, हुर्किएका हुन् । त्यसैले पनि उनले टुँडिखेल बचाउने यो अभियानमा आफ्नो बाल्यकाल पनि सम्झिए ।’

  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार २२:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया