कतारलाई नाकाबन्दी गर्ने मुलुकहरुले पनि अरेबियन गल्फ कपमा भाग लिने

एजेन्सी– कतारलाई नाकाबन्दी लगाइरहेका साउदी अरबिया, संयुक्त अरब इमिरेट्स तथा बहराइनले अरेबियन गल्फ कपका लागि आफ्नो फुटबल टिम कतार पठाउने भएका छन् । 

मंगलबार विज्ञप्ति जारी गर्दै संयुक्त अरब इमिरेट्सको फुटबल संघले कतारमा हुने २४औँ संस्करणको अरेबियन गल्फ कपका लागि आफ्नो फुटबल टोली कतार पठाउने जानकारी दिएको छ । 

यो प्रतियोगिता नोभेम्बर २४ देखि डिसेम्बर ९ सम्म कतारमा हुनेछ । साउदी अरेबिया तथा बहराइनले पनि विज्ञप्ति जारी गर्दै सो खेलमा सहभागी हुने जानकारी गराएका छन् । 

अरब गल्फ कप संघको आग्रहमा ती देशले २४औँ संस्करणको अरेबियन गल्फ कपमा सहभागिता जनाउन लागेका हुन् । 
 
कतारका विदेशमन्त्री महम्मद बिन अब्दुलराहमले पत्रकारसँग कुरा गर्दै भने, ‘यो राम्रो संकेत हो, हामी विवादका बारेमा सल्लाह गर्न तयार छौँ ।’ कतार सधैँ गल्फ देशको सम्बन्ध सुमधुर रहोस् भन्ने पक्षमा रहेको उनले बताए । 

कतारले आतंकवादलाई प्रोत्साहन गरेको भन्दै करिब दुई वर्षअघि यी देशले इजिप्टसँग मिलेर कतारमाथि नाकाबन्दीको घोषणा गरेका थिए । उनीहरूले जमिन, हवाई तथा समुद्र तीनै मार्गमा कतारमाथि नाकाबन्दी लगाएका थिए ।

दुई वर्षअगाडि नै कतारमा हुने भनिएको यो प्रतियोगिता नाकाबन्दीका कारण कुवेतमा सारिएको थियो ।
 
गल्फ कर्पोरेसन काउन्सिलमा कतार, साउदी अरेबिया संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत र ओमान रहेका छन् । ओमान तथा कुवेतले यसअघि नै प्रतियोगितामा भाग लिने बताइसकेका थिए ।
  
कतारले अरेबियन गल्फ कपको आयोजना गर्न लागेको यो चौथोपटक हो । ओमान यो प्रतियोगिताको साविक विजेता हो । 
 





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार १८:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया