पर्यटन बोर्डले पाँच हजार व्यक्तिलाई पर्यटनलक्षित तालिम दिने

काठमाडौं– नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । 

बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालिम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालिम प्रदान गर्न लागेको छ । 

यसैगरी ट्रेकिङ गाइड र माउन्टेन लिडर तालिम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकलासम्बन्धी, सरसफाइ र स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन तालिम प्रदान गर्न लागेको हो ।

बोर्डका प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पर्यटकीय संघसंस्थालाई समावेश गरेर पाँच हजार व्यक्तिलाई तालिम प्रदान गर्न लागिएको जानकारी दिए । ‘बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवर्द्धन गर्न तालिमका लागि दुई करोड रकम विनियोजन गरेको छ, जुन भ्रमण वर्षका लागि अपुग रकम हो,’ प्रबन्धक घिमिरेले भने ।

बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर स्थानीय तहसँगको समन्वयमा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको छ । यसैगरी, संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयले पनि नेपाल भ्रमण वर्षलाई लक्षित गरी थप पाँच हजारलाई पर्यटन प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १५:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया