अब नाप–नक्सासम्बन्धी स्‍नातकोत्तर तहको पढाइ हुने

काभ्रे– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अब नाप–नक्सासम्बन्धी प्रविधिको पढाइ स्‍नातकोत्तर तहमा पनि गरिने बताएकी छिन् । भूमि प्रशिक्षण केन्द्रले मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले सो जानकारी दिएकी हुन् । 

‘नाप–नक्सासम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन’ विषयमा आयोजित गोष्ठीमा बोल्दै उनले अन्तराष्ट्रिय गोष्ठीबाट नाप–नक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नवीनतम प्रविधि एवं अवधारणाले सबै लाभान्वित हुने बताइन् । 

गोष्ठीबाट अन्तराष्ट्रिय सहकार्य र पाठ्यक्रम विकासको विषया अझ बढी चासोको विषय हुने भन्दै उनले केन्द्रले केन्द्रित गर्नुपर्ने क्षेत्रको पाठ्यक्रम विकासमा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन् । 
 
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नाप–नक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञहरूको सुझाब संकलन गर्न कार्यशाला आयोजना गरिएको बताइएको छ । केन्द्रले विश्वविद्यालयहरूसँगको सहकार्यलाई निरन्तरता दिने मन्त्री अर्यालको विश्वास छ । 

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले आयोजना गरेको गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, युक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलियालगायत १३ देशका सहभागी रहेको केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए । दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा १ सय ५० बढी सहभागी छन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १४:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया