ए डिभिजन लिगमा किन शून्य हुन्छ रंगशाला ?

काठमाडौं– दशरथ रंगशालमा लामो समयपछि फुटबल फर्किएको छ । २०७२ सालको विनाशकारी भूकम्पले भत्काएपछि पुनर्निर्माण भएको रंगशालामा दक्षिण एशियाली खेलकुद (साग)को आयोजना गरियो । 

लगत्तै अहिले यही रंगशालामा ए डिभिजन लिग सुरु भएको छ । 

म्यानचेस्टर युनाइटेड र चेल्सी, बार्यन मुनिख र पिएसजीका खेलहरुलाई पनि बढो चासो दिएर हेर्ने नेपाली फुटबल फ्यानहरु चाहिँ नेपालमै भइरहेको ए डिभिजन लिग हेर्न रंगशालासम्म खासै पुग्दैनन् । 

गत बिहिबारकै प्रसंगबाट सुरु गरौँ । बिहिबार दिउँसो ३ बजे लिगअन्तर्गत जावलाखेल युथ क्लब र संकटा क्लबबीच खेल थियो । तर, प्यारापिटमा औंलामा गन्न सकिने दर्शक थिए । 

आखिर किन खाली हुन्छन्, रंगशालाका यी कुर्सीहरु जब नेपालकै सबैभन्दा ठूलो घरेलू लिगको प्रतिस्पर्धा भइरहेको हुन्छ ? 

एउटा कुनामा यही खेल हेरिरहेका थिए, झम्सिखेल युथ क्लबका अध्यक्ष सन्दन थापा मगर । हामीले उनलाई नै सबैभन्दा पहिले प्रश्न सोध्यौँ– किन यसरी खाली छ, रंगशाला ? 



‘नेतृत्व तहको कमजोरीले,’ थापाले सटिक उत्तर दिए, ‘खासमा यो सब काम गर्नु पर्ने व्यवस्थापनले हो, यसलाई प्रचार गर्नु पर्ने पनि उनीहरुले नै हो । तर, उनीहरु यो सब गर्दैनन् ।’



योसँगसँगै अहिले जुन दरमा टिकट बिक्री गरिएको छ, त्यसलाई पनि समस्या मान्छन्, सन्दन । ‘यहाँ खेल हेर्नका लागि २ सय र ५ सयको टिकट तोकिएको छ,’ उनले भने, ‘यो टिकट दर नै गलत छ ।’

यसका लागि उनले विकल्प पनि दिएका छन् । उनलाई त लाग्छ, अहिलेका लागि नेपाली दर्शकहरुलाई रंगशालासम्म तान्न टिकट फ्रि गरिदिए पनि हुन्छ । ‘अहिले बजारमा नयाँ ब्रान्ड केही आयो भने केही दिन त्यसलाई प्रमोट गर्न स्याम्पल पिस बाँडिन्छ नि,’ उनले अथ्र्याए, ‘त्यस्तै अहिलेका लागि हामीले फ्रिमा नै दर्शकहरुलाई यहाँ फुटबल हेर्न आउने बनाउने हो भने बल्ल नेपाली फुटबल हेर्नेलाई पनि बानी पर्छ ।’

कम्तिमा पनि दुई वटा खेल हेरेपछि नेपाली दर्शकले सहजै तेस्रो खेल हेर्न सक्ने उनी बताउँछन् । 

‘दुई वटा खेल फ्रि गर्ने हो भने रस पस्छ फुटबलको,’ उनले भने, ‘अनि तेस्रो खेल हेर्न दर्शक आफैं आउँछन् नि ।’

फुटबलको र्याङ्किङमा नेपालभन्दा पछाडि रहेका मुलुकमा पनि पछिल्लो समय फुटबलको क्रेज बढिसकेको तर नेपालले गर्नु पर्ने प्रगति नगरेको उनको गुनासो छ । 

बरु सन्दन २०४३ सालतिर फर्किन्छन् । ‘त्यति बेला म फुटबल हेर्न आउँदा यो रंगशाला भरिएको हुन्थ्यो,’ उनले भने, ‘अहिले त झन् कम हुँदै गएको छ जुन अचम्म लाग्दो छ ।’

सन्दन जति बढी व्यवस्थापन र यसको प्रचार प्रसारको कमी देख्छन्, त्यहाँभन्दा बढी कमजोरी हाम्रा क्लबहरुको भएको मान्छन्, राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का । उनले भने, ‘हाम्रा क्लबहरुले फ्यान बेस बनाउन नै सकेका छैनन्, त्यसैका कारण होला, हाम्रोमा दर्शकको खडेरी लाग्ने गरेको ।’

उनले सम्झिए, ‘पहिले थ्रि स्टार क्लब भनेपछि पूरै पाटनका मानिसहरु खेल हेर्न आउँथे, तर, अहिले अवस्था फेरिएको छ । अहिले त मानिसहरु फुटबलमा नै चासो नदिने हुन् कि भन्ने भएको छ । यो सब हाम्रा क्लबहरुले आफ्नो छाप बनाउन नसकेकाले हो ।’

यतिमात्र होइन, खड्कालाई टिकट दरमा पनि ख्याल पुर्याउनु पर्ने अवस्था आएको जस्तो लाग्छ । उनी टिकट दर अलिक कम राख्ने हो भने दर्शकको पनि बढोत्तरी हुनसक्ने अनुमान गर्छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राई पनि हाम्रा क्लबहरुको पपुल्यारिटी कम भएकाले दर्शकहरु खेल हेर्न नआएको बताएँछन् । ‘मौसम पनि चिसो छ, मानिसहरुको फुर्सद पनि कम छ,’ उनले भने, ‘त्यसैले मानिसहरु खासै आएनन् ।’

राईलाई यो डिभिजन लिगमा राखिएको टिकट दर चाहिँ स्वभाविक नै लाग्छ । ‘टिकट किन्न नसकेर दर्शक नआएका होइनन्,’ उनले भने, ‘अब दर्शक तान्नका लागि एन्फाले विभिन्न योजना पनि बनाइरहेको छ ।’

तर, खेलकुदमा यस्तो अवस्था यही मात्र नरहेको मान्न सकिन्छ । जस्तो कि खेलकुद क्षेत्रको अवस्था राम्रो हुँदो हो भने यो अवस्था पक्कै आउँदैनथ्यो । 

यही कुरालाई स्वीकार्छन् सन्दन पनि । ‘अब विदेशमा साना बच्चाहरु पनि पछि गएर खेलाडी बन्छु भन्न अप्ठ्यारो मान्दैनन्,’ उनले भने, ‘त्यहाँ खेलकुदको अवस्था राम्रो छ । खेलाडीको भविष्य राम्रो छ । तर, यहाँ नेपालमा अहिले पनि त्यस्तो अवस्था आएको छैन । यसले सबैलाई नराम्रो अवस्था सिर्जना गर्न बाध्य बनाएको हो ।’

  • प्रकाशित मिति : पुस १३, २०७६ आइतबार १२:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया